मंगलबार, माघ १३, २०८२

मधेस प्रदेशमा गठबन्धनभित्रै विवाद, कांग्रेसको विपक्षमा जसपा

मेरोन्यूज २०७९ वैशाख ३ गते १५:२१

काठमाडौँ । तराई मधेस केन्द्रीत र राजतन्त्रवादी शक्तिले अघिल्लो निर्वाचनमा विजय हासिल गरेका महानगर र उपमहानगरमा पाँच दलीय गठबन्धनको प्रमुख राजनीतिक दल नेपाली कांग्रेसले मेयर र उपमेयर पाउनु पर्ने दाबी प्रस्तुत गरिरहेको छ ।

पाँच दलीय गठबन्धनमा महानगर र उपमहानगरको भागबण्डा केन्द्रबाट गर्ने निर्णय भइरहेको बेला तराई मधेस केन्द्रीत राजनीतिक दल र राजतन्त्रवादी शक्तिले विजयी हासिल गरेका स्थानमा कांग्रेसले दाबी प्रस्तुत गरिरहेको हो ।

राजतन्त्रवादी शक्ति तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले विजयी हासिल गरेको बाँकेस्थित नेपालगञ्ज महानगरमा नेपाली कांग्रेसले दाबी नछाडेपछि जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट नै बाहिरिएको छ । जसपा नेपाल जिल्ला अध्यक्ष कमरुद्धिन राईले जसपालाई नेपालगञ्ज छाड्न कांग्रेसले नमान्दा गठबन्धनबाट बाहिरिनु परेको जनाएका छन् ।

उनका अनुसार नेपालगञ्जमा अब जसपा नेपालले एक्लै निर्वाचन लड्ने छ । राप्रपाबाट विजयी मेयर धवलशमशेर राणाले पुनः उम्मेदवारी नदिने घोषणा गरेको तथा नेकपा एमालेबाट नवप्रवेशी पशुपतिदयाल मिश्र मेयरको उम्मेदवार भएपछि गठबन्धनभित्र मुख्यतः जसपा र कांग्रेसबीचमा मनमुटाव हुन पुगेको हो ।

उता, पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णयअनुसार पर्सास्थित वीरगञ्ज महानगर जसपालाई दिने ‘सैद्धान्तिक सहमति’ भएपछि कांग्रेसको स्थानीय नगर कमिटी बिच्किन पुगेको छ ।

वीरगञ्ज महानगर समितिका सभापति मनिन्द्रलाल श्रेष्ठले वीरगञ्जमा कांग्रेसको स्वभाविक दाबी रहेको उल्लेख गर्दै पाँच दलीय गठबन्धनबाट बाहिरिएर एक्लै निर्वाचनमा जाने निर्णय गराइसकेका छन् । केन्द्रीय निर्णयअनुसार गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा वीरगञ्ज महानगरका ३२ वटै वडाबाट गठबन्धनको विपक्षमा सुझाव आएको उल्लेख गर्दै महानगर सभापति श्रेष्ठले कांग्रेसले एकल उम्मेदवारी दिने घोषणा गरेका छन् । जसका कारण जसपाले जितेको स्थानमा कांग्रेसको दाबी स्पष्ट देखिएको छ ।

तत्कालीन जसपा नेपालबाट निर्वाचित मेयर विजय सरागवी एमाले प्रवेश गरे पनि गठबन्धनको केन्द्रीय सहमतिअनुसार सो स्थानमा जसपाको नै भागबण्डामा परेको छ । तर, जसपाको भागबण्डामा परेको कांग्रेसले मेयर र उपमेयरमा दाबी गर्दै सोअनुसार दिन गठबन्धनका अन्य दल तयार नभएको खण्डमा गठबन्धन नै नगर्ने निर्णय गराएर दबाब बढाइसकेको छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालले विजयी हासिल गरेको जनकपुरधाम उपमहानगरमा कांग्रेसले दाबी गरेको छ । हाल महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)ले नेतृत्व गरेको जनकपुरधाममा कांग्रेसले दाबी गर्दै नपाएको खण्डमा एकल रुपमा उम्मेदवारी दर्ता गराउने भएको छ ।

नगर समितिका सभापति मनोजकुमार साहका अनुसार पाँच दलीय गठबन्धनको राजनीतिक संयन्त्रमा जनकपुरधाम कांग्रेसले पाउनु पर्ने दाबी प्रस्तुत गरिसकेका छन् । ‘वडाध्यक्ष र सदस्यमा गठबन्धन आबद्ध दलका बीचमा सहमति गरेर जान सकिने भए पनि मेयर र उपमेयर भने कांग्रेसले पाउनु पर्छ,’ साहले भनेका छन्, ‘यदि, हुँदैन भने जनकपुरमा मेयर उपमेयरसहित २५ वटै वडामा कांग्रेसले एकल उम्मेदवारी दिने छ, हामीलाई जित्न गठबन्धन चाहिँदैन् ।’

जनकपुरमा अझैसम्म मेयर र उपमेयरको उम्मेदवारी घोषणा भइसकेको अवस्था छैन ।

प्रतिक्रिया