मंगलबार, माघ १३, २०८२

मेयर नपाए टीकापुर नगरमा माओवादीले गठबन्धन नगर्ने

मेरोन्यूज २०७९ वैशाख ३ गते १९:५२

काठमाडौँ । कैलालीको टीकापुर नगरपालिकामा सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले मेयर पद पाए मात्रै सत्ता साझेदारी दलसँग सहकार्य गर्ने जनाएको छ ।

माओवादीको नगर कमिटीका सचिव खुसीराम थारू र अध्यक्ष खडक बहादुर शाहले संयुक्त विज्ञप्ति जारी गर्दै सम्मानजनक गठबन्धन हुनु पर्ने बताएका हुन् । उनीहरूले आफ्नो पार्टी गत स्थानीय निर्वाचनमा दोस्रो भएको बताउँदै गठबन्धन भए नगर प्रमुख पाउनु पर्ने दाबी गरेका छन् ।

‘गठबन्धनको मर्म र भावना एवम् मापदण्डअनुसार गत स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा हाम्रो पार्टी उपविजेता तथा नेपाली कांग्रेस चौथो स्थानमा रहेकाले हाल हाम्रो पार्टीको सदस्य संख्या जिल्लाकै सर्वाधिक तीन हजार ३३२ भएकाले हामीले नगरप्रमुख पद लिएर मात्र सम्मानजनक गठबन्धन गर्नु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यदि, प्रमुख पद नपाएको खण्डमा सम्मानजनक गठबन्धनको औचित्य समाप्त हुने छ, हामी र हाम्रो पार्टी एकल रुपमा निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्षम छौँ ।’

गत स्थानीय निर्वाचनमा यस नगरबाट नेकपा एमालेले मेयर पदमा विजयी हासिल गरेको थियो । नेपाली कांग्रेस चौथो भएको थियो ।

प्रतिक्रिया