शुक्रबार, चैत २०, २०८२

आचारसंहिता पालना गर्न निर्वाचन आयोगको आग्रह

मेरोन्यूज २०७९ वैशाख ८ गते २०:५७

हेटौँडा । मकवानपुरका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा आचारसंहिताको पालना गर्दै भय रहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आग्रह गरे ।

Advertisement
nepal life insurencenepal life insurence

स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको हो । यसैबीच प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले राजनीतिक दलहरूसँग सहकार्यको लागि आग्रह गरेका छन् । सबै निकायको सकारात्मक पहलले नै निर्वाचन सम्पन्न गर्न सकिने भन्दै उनले साथ र सहयोगको अपेक्षा रहेको बताए ।

मकवानपुरको १९ वटा मतदान केन्द्र अति संवेदनशील रहेको बताउँदै उनले त्यस्ता क्षेत्रमा थप सुरक्षा नीति अपनाइएको जानकारी दिए । आचारसंहिताको उलंघन भएको खण्डमा आजदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई नियमन देखि कारबाही सम्मको अधिकार प्राप्त भएको बताए ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरूले समेत आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौँडा उपमहानगरकी उपमेयर मिना कुमारी लामा, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा लगाएतको उपस्थिति रहेको थियो ।

हेटौँडा–२ स्थित अफिसर क्लबको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

प्रतिक्रिया