मंगलबार, फागुन २६, २०८२

नौ महिनामा चार हजार किलो सुन आयात

मेरोन्यूज २०७९ वैशाख १० गते १७:४९

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा सुन आयातका लागि मुलुकबाट २८ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८–७९ को पहिलो नौ महिनाको विवरणानुसार सुन आयातका लागि नेपालबाट उक्त रकम बाहिरिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

तथ्यांकानुसार नौ महिनाको अवधिमा मुलुकमा चार हजार किलोभन्दा बढी सुन आयात भएको छ । सुनको आयातबाट सरकारले तीन अर्ब ४८ करोड तीन लाख ३० हजार बराबरको राजस्व संकलन गरेको छ ।

सार्वजनिक विवरणानुसार नेपालमा मुख्य युनाइटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट सुन भित्रिने गरेको देखिन्छ । चालु आवको पहिलो नौ महिनामा सबैभन्दा बढी युएईबाट सुन आयात भएको विभागको तथ्यांक छ ।

युएईबाट ३२ लाख ३३ हजार ग्राम सुन आयातका लागि २२ अर्ब ६२ करोड दुई लाख ५४ हजार बाहिरिएको छ भने सरकारले दुई अर्ब ७४ करोड ८० लाख ५४ हजार राजस्व संकलन गरेको छ । युएईपछि टर्कीबाट पाँच अर्ब ९२ करोड ८७ लाख ५० हजार बराबरको आठ लाख ६१ हजार ५०० ग्राम सुन आयात भएको छ ।

केन्द्रीय बैंकले विलासिताका वस्तु आयातमा रोक लगाएका कारण सुन आयातमा यसको प्रत्यक्ष असर परेको छ । विभागका अनुसार पछिल्लो एक महिनामा ५० हजार ग्राम सुन आयात भएको छ । अहिले आयातमा कडाइ गरिए पनि अघिल्लो आवको तुलनामा चालु आवको नौ महिनाको सुनको आयात भने बढेको देखिन्छ ।

गत आवको चैत मसान्तसम्म दुई हजार ७६० किलोग्राम सुन आयात भएकामा चालु आवको सोही अवधिसम्म आयात करिब ४७ प्रतिशतले बढेर चार हजार किलोग्रामभन्दा बढी पुगेको देखिन्छ ।

प्रतिक्रिया