बुधबार, फागुन २७, २०८२

बजेट कार्यान्वयनमा घरेलु तथा साना उद्योग महासंघको जोड

मेरोन्यूज २०७९ जेठ १८ गते २१:३८

काठमाडौं । सरकारले आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासङ्घले बजेटको सफल कार्यान्वयनमा जोड दिएको छ । 

Advertisement
nepal life insurencenepal life insurence

निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनका रूपमा स्थापित गर्ने लक्ष्य राखेको बजेटले निजी क्षेत्रको लगानी, उद्यमशीलता र अनुभवलाई मुलुकको आर्थिक विकासमा परिचालन गर्न व्यवसायीमैत्री वातावरण निर्माण गर्ने विद्यमान कानून तथा कर प्रणालीमा सुधार र पूर्वाधार सुविधा उपलव्ध गराउने कुरा बजेटको सकारात्मक पक्ष भएको महासङ्घको भनाइ छ । 

महासङ्घले आज विज्ञप्ति जारी गरी कृषि क्षेत्रको रूपान्तरण र रोजगारी वृद्धि, निरपेक्ष गरिबीको अन्त्य र आर्थिक समृद्धि कार्यक्रमअन्तर्गत, आत्मनिर्भरताका लागि कृषि उत्पादनको राष्ट्रिय अभियानको वर्षका रूपमा आगामी आर्थिक वर्षमा आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम सञ्चालन गर्ने, कृषिलाई व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरण गर्ने बजेटको सकारात्मक पक्ष भएको जनाएको हो । 

किसानसँग सरकार कार्यक्रमअन्तर्गत किसानको मनोबल बढाउन योगदानमा आधारित किसान पेन्सन योजना सुरुआत गर्न किसान हित कोष स्थापना गर्ने जस्ता कृषिमैत्री कार्यक्रमहरु आउनु बजेटका सकारात्मक पक्ष भएको समेत महासङ्घले जनाएको छ । 

महासङ्घले स्वदेशी वस्तुको उपभोगलाई बढाउँदै लैजाने बजेटको भावनालाई कार्यान्वयन गर्ने दरिलो संयन्त्र घोषणा हुनुपर्ने आवश्यकता औँल्याउँदै बजेटमा उद्योग क्षेत्रका विद्यमान कानूनहरु परिमार्जन गर्ने भनिएको सन्दर्भमा वर्तमान संविधान जारी हुनुभन्दा अगाडि नै बनेको औद्योगिक नीति–२०६७ को पुनर्लेखन गरी वर्तमान प्रादेशिक संरचनानुरूपको औद्योगिक नीति तर्जुमा गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएको छ ।
    
औद्योगिक व्यवसाय ऐनका सम्बन्धमा प्रादेशिक संरचनानुरूप मुलुकले गत पाँच वर्षमा भोगेका अनुभवका आधारमा विद्यमान औद्योगिक व्यवसाय ऐन–२०७६ लाईसमेत परिमार्जन गरी पुनर्लेखन गर्नुपर्ने आवश्यकता महासङ्घले औँल्याएको छ । 

प्रतिक्रिया