चुइगम पड्काएरै सके नेपालीले ४१ करोड !

काठमाडौं । न त छाक टर्ने न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ ।
स्वास्थ्यलाई फाइदा गर्ने भए त ठिकै पनि हो । कुनै हिसाबले पनि अर्थ नभएको वस्तु आयात गरेर ठूलो मिहिनेत गरेर जम्मा पारेको विदेशी मुद्रा खर्च गर्नुपरेको छ । अनावश्यक र फजुल खर्चमा नेपाली कति अगाडि छन् भन्ने कुराको खास उदाहरण हो, चुइगम आयातको तथ्यांक ।
न औषधि नै हुने न त अत्यावश्यक वस्तु । न त मुलुकमा नै उत्पादन हुन्छ । एकातिर विदेशी मुद्रा सञ्चिति घट्दो छ भने अर्कातर्फ यस्ता अनावश्यक वस्तुको आयात बढ्दो छ ।
मुलुकको आर्थिक अवस्थाका बारेमा प्रायः सबैमा चेतना नभएको पनि होइन । तर पनि यस्ता अनावश्यक र विलासी वस्तुको आयातमा अर्बौँ रकम बाहिरिइरहेको तथ्यांक समय–समयमा सार्वजनिक हुने गरेको छ ।
खेतबारीमा सहजै उत्पादन गर्न सकिने वस्तुदेखि अनावश्यक ठानिएका वस्तुको आयात गरेर ठूलो मात्रामा विदेशी मुद्रा खर्च गरेर नेपालीले आफैँलाई थप परनिर्भर बनाइरहेका छन् । यस्तै तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ ।
विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको आयात निर्यातसम्बन्धी विवरणानुसार जेठ मसान्तसम्म मुलुकमा १३ लाख दुई हजार १९५ किलो चुइगम आयात भएको छ । एकाध मिनेटका लागि नेपाली समाजमा प्रचलित भनाइजस्तै ‘मुखको तितो मेट्न’का लागि चपाइने त्यस्ता वस्तुको आयातका लागि मात्र झन्डै ४१ करोड रुपैयाँबराबरको लगानी गरिएको छ । विभागका अनुसार सो परिमाणको चुइगम आयात गर्न मुलुकबाट ४० करोड ८४ लाख ६७ हजार रकम बाहिरिएको छ ।
नेपालमा विशेषगरी चीन, भारत र युरोपेली देशबाट चुइगम आयात हुने गरेको छ । त्यस्तै, यस अवधिमा चकलेट र यससँग सम्बन्धित वस्तु आयातमा दुई अर्ब ८३ करोड ८८ लाख ८१ हजार रुपैयाँबराबरको रकम बाहिरिएको छ ।
११ महिनाका अवधिमा ८० लाख ६१ हजार ६३६ किलो चकलेट र चकलेट बनाउन प्रयोग हुने कच्चा सामग्री आयात भएको छ । यस्तै, कुरकुरे, कुरमुरे, लेज, चिजबल्सजस्ता खानेकुराको आयात समेत करोडौँमा हुने गरेको छ । ती खाद्यपदार्थको सेवन नगर्दा पनि नेपाली पछाडि पर्दैनन् । तर, जसरी भए पनि खानैपर्ने भन्ने सोचका कारण विदेशी मुद्राको सञ्चिति घटाउन प्रयोग भइरहेको छ ।
चालु आवको पहिलो ११ महिनामा १४ लाख २४ हजार ३६९ किलोबराबरको त्यस्ता खानेकुरा आयात भएको छ । त्यसका लागि मात्र मुलुकबाट ६६ करोड ६५ लाख २५ हजार रुपैयाँबराबरको रकम बाहिरिएको छ । यस अवधिमा बिस्कुटजस्ता खानेकुराको आयातमा समेत अर्बौँ रकम विदेशिने गरेको देखिन्छ । चालु आवको जेठ मसान्तसम्म एक अर्ब ३७ लाख रुपैयाँभन्दा बढीका बिस्कुट आयात भएको छ ।
त्यस्तै, पापड १९ करोड ९४ लाख, मकैको खानेकुरा ९कर्नफ्लेक्स० १८ करोड ४९ लाख रुपैयाँको आयात भएको विवरण छ । अनावश्यक ठानिएका यस्ता सामग्रीको आयातमा कडाइ गर्नुपर्ने माग पनि नउठेको होइन । तर, सरकारी निकायले त्यसतर्फ ध्यान दिन सकेको छैन ।
अर्थमन्त्री जनार्दन शर्माले देशभित्रै उत्पादन हुने बिस्कुटको प्रयोग सरकारी निकायमा अनिवार्य रूपमा गर्न यसअघि नै प्रक्रिया अगाडि बढाइसकिएको बताएका छन् ।
विदेशी मुद्राको सञ्चिति ओरालो लागेको बेला अनावश्यक ठानिएका यस्ता वस्तुको तत्काल आयात प्रतिबन्ध लगाउनुपर्ने माग पनि उठेको छ । यी सामग्री अत्यावश्यक पनि नभएकाले सरकारले सामान्य रूपमा कडाइ गर्नेबित्तिकै नियन्त्रण भइहाल्ने सरोकारवालाको भनाइ छ । रासस














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया