हाफ म्याराथनको उपाधि गुरुङलाई

दमौली (तनहुँ) । व्यास नगरपालिका–६ बाह्रबिसे युवा क्लबले आज आयोजना गरेको व्यासगुफा–गलेखामकोट अल्ट्रा हाफ म्याराथनको उपाधि आँबुखैरेनीका सनम गुरुङले जितेका छन् । चौतीस धावकलाई पछाडि पार्दै व्यास–३ व्यास गुफादेखि व्यास–६ गलेखामकोटसम्मको २१ किलोमिटर दूरीको म्याराथनमा गुरुङ प्रथम भएका हुन् ।
म्याराथनमा शुक्लागण्डकी नगरपालिकाका टोपबहादुर कुमाल द्वितीय र भानु नगरपालिकाका आदित्य जिसी तृतीय भएका छन् । विजेतालाई क्रमशः रु ३५ हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार प्रदान गरिएको क्लबका अध्यक्ष ज्ञानबहादुर गुरुङले जानकारी दिए ।
दुई धार्मिक तथा पर्यटकीय स्थल व्यासगुफा र गलेखामकोटलाई खेलकुदको माध्यमबाट जोड्ने र दुवै ठाउँको पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित हाफ म्याराथन गरिएको उनले जानकारी दिए । व्यासका नगर प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदले दुई ठाउँको धार्मिक पर्यटन प्रचारप्रसारमा सहयोग पुग्ने धारणा राखे ।
उनले भने, “व्यास गुफा महत्वपूर्ण धार्मिकस्थल हो, गलेखामकोट धार्मिक र ऐतिहासिक हिसाबले महत्वपूर्ण कोट हो, त्यसको विकास र प्रवद्र्धनका लागि जुटेका छौं ।” म्याराथनले गलेखामकोटसम्म भावनात्मक हिसाबले सम्बन्ध जोड्न सहयोग पुगेको बताउँदै नगरप्रमुख न्यौपानेले गलेखामकोटको थप प्रचारप्र्रसार गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । नगरपालिकाले माघ १६ गते मानुङकोटदेखि पुलिमराङसम्म अल्ट्रा म्याराथन आयोजना गर्न लागेको बताउँदै नगरप्रमुख न्यौपानेले खेललाई पर्यटनसँग जोडेर जानुपर्ने धारणा राखे ।
व्यास–६ का वडाध्यक्ष एवं नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन गुरुङले गलेखामकोटलाई पर्यटकीय हिसावले विकास गर्ने उद्धेश्यसहित म्याराथन आयोजना गरिएको उल्लेख गरे । उनले भने, “यसले भोलिका दिनमा व्यास–६ लाई अगाडि बढाउन सहयोग पुग्नेछ । यसलाई पर्यटकीय हिसावले विकास गर्न सकिए स्थानीयको आर्थिक सवलीकरणमा टेवा पुग्नेछ ।”
यसैबीच क्लबले भोलिदेखि वडा स्तरीय भलिबल प्रतियोगितासमेत आयोजना गरेको छ । भलिबल प्रतियोगितामा विजेतालाई रु ४० हजार, ट्रफी र मेडल तथा उपविजेतालाई रु २५ हजार, ट्रफी र मेडल प्रदान गरिनेछ । यस्तै सेमिफाइनल पुग्ने दुई टोलीलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
गलेखामकोट समुन्द्री सतहबाट एक हजार ३०० मिटर उचाइमा अवस्थित छ । यहाँबाट जिल्लाकै व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र लमजुङको मध्यनेपाल नगरपालिकाका केही भाग देख्न सकिन्छ । पृथ्वीराजमार्ग अन्तर्गत कन्टारबाट पश्चिम लागेपछि पुगिन्छ पर्यटकीय स्थल गलेखामकोट–कन्टारदेखि साँगे हुँदै पुगिने गलेखामकोट सदरमुकाम दमौलीदेखि नजिक रहेर पनि ओझेलमा परेको ठाउँ हो ।
आधाजसो पक्की र आधाजसो कच्ची सडक हुँदै पुगिने यस ठाउँमा सडकको असुविधाका कारण पर्यटक कम पुग्ने गरेका छन् । कुनै बेला मगर राजाले समेत राज्य गरेको यस ठाउँ ओझेलमा परेपछि स्थानीयवासी यसको प्रवद्र्धनमा जुटिरहेको वडाध्यक्ष गुरुङको भनाइ छ ।
यहाँबाट सदरमुकामको दमौली, शुक्लागण्डकी नगरपाकिालस्थित थप्रेक, व्यास नगरपालिकास्थित कलेस्ती, सिसाघाट, लमजुङको भोर्लेटार, सोतीपसल, दुइपिप्ले, कास्कीको फेवाताल, बेगनास ताल तथा विभिन्न ठाउँको रमणीय दृश्य देख्न सकिन्छ ।
गलेखामकोटमा नेवार समूदायको बाहुल्यता छ । गलेखामकोटमा भ्युटावर समेत बनेको छ । यहाँ विसं २०७६ सालमा रु १६ लाख ५० हजारको लागतमा भ्युटावर निर्माण गरिएको थियो । तीन तलाको दृश्यावलोकन स्तम्भबाट एकैपटकमा २० भन्दा बढी पर्यटकले दृश्यावलोकन गर्न मिल्नेछ । यहाँबाट कास्कीको फेवाताल, माछापुच्छ्रे, धवलागिरी, अन्नपूर्ण, मनास्लु लगायतका हिमश्रृङ्खला देख्न सकिन्छ ।
गलेखामकोट बाइसे चौबीसे राज्यको पालामा चक्रधारी राजाले शासन गरेको ठाउँ हो । यहाँ रहेको कोटभैरव मन्दिरमा दशैंका बेला विशेष पूजाआजा हुने गरेको छ । बडादशैंको नवमीको दिन मन्दिरमा पञ्चबली दिने प्रचलन रहेको स्थानीयवासी मनिता गुरुङले जानकारी दिए । मन्दिरमा राना जातिले पूजारी र ब्राम्हण जाति पुरोहितको रुपमा काम गर्दै आएका छन् ।

















निर्वाचन १३ दिन बाँकी: आयाेगले दियो टिकटक बनाएर ५० हजार जित्ने अवसर
आज २०८२ साल फागुन ८ गते शुक्रबारको राशिफल
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
९५५ केजी गाँजासहित दुई जना पक्राउ
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
प्रतिक्रिया