कांग्रेस बैठक
आफ्नै रक्षामा उत्रिए देउवा

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर रक्षात्मक देखिए । पार्टी कार्यालय सानेपामा जारी बैठकमा उनी आफ्नै रक्षामा उत्रिएका हुन् ।
देउवा नेतृत्वको गठबन्धन सरकार बनेको बुधबार एक वर्ष पूरा भएको छ । यसै क्रममा बसेको बैठकमा नेताहरूले सरकारको काम कारबाहीलाई लिएर असन्तुष्टि जनाएका थिए ।
पछिल्लो समय महंगी बढेको छ भने पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको छ । यसलाई लिएर कांग्रेस नेताहररुले नै सभापतिमाथि प्रश्न उठाएका थिए ।
सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको र अहिलेसम्म देखिने तथा सुनिने गरी काम गर्न नसकेको भन्दै आलोचना भएपछि कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले जवाफ दिनु पर्ने अवस्था आएको छ ।
बुधबारको बैठकमा महाधिवेशन देउवालाई साथ दिएका नेता प्रकाशमान सिंहले सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका थिए । उनले चुनाव नजिकिँदै गरेको भन्दै यस्तो अवस्थामा कसरी जनतामाझ जाने भन्दै प्रधानमन्त्री देउवालाई प्रश्न गरेका थिए ।
त्यस्तै, वरिष्ठ नेता शेखर कोइराला पक्षले देउवामाथि गठबन्धन गर्न नहुने दबाब बढाइरहेको छ । कोइराला पक्षले कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रिएर बहुमत ल्याउने गरी काममा लाग्नु पर्ने देउवामाथि दबाब दिएका छन् । तर, देउवा रक्षात्मक देखिदै आएका हुन् । उनले गठबन्धन नगरे जित निकाल्न नसक्ने भन्दै आश्वस्त पारिरहेका छन् ।
त्यस्तै, देउवामाथि प्रदेश २ मा आफ्नै पार्टी कांग्रेस सिध्याउन लागेको आरोप लागेको छ । केन्द्रीय सदस्य मीनाक्षी झाले सभापतिले नै कांग्रेस सिध्याउन लागेको आरोप लगाएकी हुन् ।
‘हाम्रो प्रतिस्पर्धा गर्ने पार्टीलाई टिकट दिएर कांग्रेस सिध्याउन खोजेको हो ?’ उनको प्रश्न गरिन्, ‘तराईमा कांग्रेस चाहिँदैन सभापतिज्यू ? किन महत्त्व बोकेको जनकपुरमा हामीलाई टिकट दिइएन्, जसपालगायत क्षेत्रीय पार्टीसँग भिड्नु छ ? कांग्रेस बनाउन हो कि सिध्याउन ? हामी लगातार बनाउन लागेका छौँ, पार्टीको मूल नेतृत्व सिध्याउन ।’
कोइराला पक्षमाथि देउवा पक्षले गुटगत भेलाको आरोप लगाइरहँदा उक्त पक्षले सोही प्रश्न देउवामाथि नै तेर्स्याएको छ । कोइराला समूहले विगतमा आफूले गरेका भेलालाई कसरी लिनुहुन्छ ? भन्दै प्रश्न गरेको छ ।
कोइराला पक्षका नेता अर्जुननरसिंह केसीले जारी केन्द्रीय समितिको बैठकमा भने, ‘ठूलो हलको व्यवस्था होस्, कोठा दिइयोस्, हाम्रो समूहका सबै साथीहरू अट्ने खालको हुनु पर्छ। पार्टी कार्यालयमै छलफल गर्छौं, अहिले समूहको भेलालाई अनौठो मान्ने शेरबहादुर जीले विगत सम्झिने कि नसम्झिने ? हिजो उहाँ प्रतिपक्षमा हुँदा गरेका भेलाबारे के भन्नुहुन्छ ?’
बुधबारको बैठकमा देउवा निकटका केन्द्रीय सदस्यहरूले छुट्टै भेला गरेको बारेमा प्रश्न गरेका थिए । उनीहरूले कोइराला समूहका लागि पार्टी कार्यालयमै छुट्टै कोठा उपलब्ध गराउन आग्रह गरेपछि आज कोइराला समूहले यस्तो प्रश्न गरेको थियो ।
देउवाले प्रहरीको हतियार खरिद प्रकरणमा पनि रक्षात्मक देखिएका थिए । बैठकमा बोलेका नेता गोपालमान श्रेष्ठले देशलाई आर्थिक संकट परेको सरकारले बेला केका लागि हतियार किन लागेको हो ? भन्दै प्रश्न उठाएपछि प्रधानमन्त्री देउवाले जवाफ दिएका हुन् ।
देउवाले सरकार तत्काल हतियार किन्ने पक्षमा नरहेको उनको दाबी गरे । ‘हतियार किन्ने कुनै निर्णय भएको छैन, सरकारले कुनै हतियार किन्दैन, म तत्काल गृहमन्त्रीलाई यो निर्देशन गर्छु,’ देउवाले भने ।
नेताहरुले सरकारमाथि र पार्टी सञ्चालनको विधिमाथि प्रहार गरिरहँदा देउवा रक्षात्मक देखिएका हुन् । सभापतिको निर्वाचनका बेला एमाले फेरि सत्तामा फर्कने त्रास देखाएका देउवाले यसपटक पुनः पार्टीको सत्तामा जान विधान संशोधन गर्ने धम्की दिए । देउवाले विधान संशोधन गरेर फेरि सभापति उठ्न सक्ने बताए । कांग्रेस विधानमा दुई कार्यकालभन्दा बढी सभापति उठ्न मिल्दैन् । देउवाको यो दोस्रो कार्यकाल हो ।
बैठकमा देउवाले आफूलाई नजिस्क्याउन आग्रह गरेका थिए । ‘फेरि सभापति हुन मलाई रहर छैन, तर तपाईंहरूले जिस्क्याउनु भयो भने फेरि उठ्न सक्छु’ देउवाले भने ।
केन्द्रीय सदस्य सञ्जय गौतमले गठबन्धन गरेर चुनाव जिते पनि पार्टी हार्ने अभिव्यक्ति दिएपछि देउवा क्रुद्ध भएका थिए । उनले गठबन्धन नगरी जितेर देखाउन चुनौती दिए । ‘गठबन्धन गर्ने हो, एक्लै बहुमत ल्याउन गाह्रो छ,’ देउवाले भने ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया