वैवाहिक अंगीकृतमा पुरानै व्यवस्था कायम राख्दै नागरिकता विधेयक संसदबाट पारित
विदेशी महिलाले विवाहलगत्तै नागरिकता पाउने, अरु यस्ता छन् नयाँ बिधेयकका प्राबधान

काठमाडौं । नेपाली नागरिकसँग विदेशी महिलाले विवाह गरेमा नागरिकता पाउने पुरानै व्यवस्थालाई यथावत् राख्दै संसदले शुक्रबार नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक संशोधन सहित पारित गरेको छ ।
सरकारले संसदमा विधेयक ल्याईरहँदा विधेयकमा ४५ जना सांसदहरुले संशोधन प्रस्ताव राखेका थिए । उनीहरुले यसलाई संसदबाट हतारमा पारित गर्नुको साटो संसदीय समिति राज्यब्यवस्था समितिमा लगेर दफावार छलफल गरेर पारित गरेर लैजान आग्रह गरेका थिए । तर त्यसमा सत्ता पक्षले कुनै सुनुवाई गर्न चाहेन । त्यसपछि संसदले वहुमतका आधारमा नागरिकता ऐन ( पहिलो संशोधन) विधेयक २०७९ पारित भएको हो ।
नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी थिए । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा रहे ।
दलहरुका वीचमा देखा परेको लामो समयको रस्साकस्सीका वीचमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले २०७५ साउन ४ मा दर्ता गरेको विधेयक संसद्मा सैद्धान्तिक छलफल, संसदीय समिति र उपसमितिको बैठक गदै २२ महिनाको मिहिनेत गर्दा पनि पारित गराउन नसकेपछि अन्ततः अहिलेको सरकारले उक्त विधेयक २४ असारमा संसदमा फिर्ता गरेर नयाँ विधेयक सोही दिन दर्ता गरेको थियो ।
त्यही नयाँ नागरिकतासम्वन्धी पहिलो संशोधन विधेयकलाई सरकारले फाष्ट ट्याक्रमा संसदबाट पारित गराएको हो ।
सत्ता पक्षले आ आफनो दलमा ह्वीप लगाएर शुक्रवार विधेयक पारित गराएको हो । विधेयक बहुमतले पारित भएको छ । अव यो पारित भएको विधेयक राष्टपतिले प्रमाणिकरण गरेपछि ऐनको रुपमा कानुन बनेर कार्यान्वयनमा आउनेछ ।
नागरिकता ऐनको दफा ५ मा अंगीकृत नेपाली नागरिकता प्राप्त गर्ने आधार छ । यसमा भनिएको छ, ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ । निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गर्नुपर्छ ।’

तर सरकारले ०७५ मा ल्याएको विधेयकमा ‘नेपालको नागरिकता प्राप्त गरेको मितिले ६ महिनाभित्र विदेशको नागरिकता परित्याग गरेको निस्सा पेश गर्नुपर्ने’ प्रावधान प्रस्ताव गरिएको थियो । त्यसलाई संशोधन गरेर राज्यव्यवस्था समितिले ‘विवाह गरेर नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको हुनुपर्ने’ प्रावधान पारित गरेको थियो । अहिले पारित भएको विधेयक भने यसबारेमा मौन छ । यसमा कुनै संशोधन नगरेका कारण ऐनकै प्रावधान कार्यान्वयन हुँदा विवाह गरेपछि नागरिकता पाउने आधार यथावत् रहेको छ ।
शुक्रवार पारित भएको नागकिरता (पहिलो संशोधन) विधेयकमा नेपाली नागरिकको परिभाषालाई फराकिलो पारिएको छ । ‘नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिने’ व्याख्या विधेयकमा छ । त्यस्तै यसअघि आमाबुबाको नागरिकता भएको तर छोराछोरीको नभएको विषयलाई सम्बोधन गर्न राखिएको दफा पनि समितिले जे टुंग्याएको थियो, त्यही राखिएको छ ।
शुक्रवार पारित भएको विधेयकमा भनिएको छ, ‘०७२ असोज ३ भन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।’
केपी ओली नेतृत्वको सरकारले ०७८ जेठ २ मा ल्याएको अध्यादेशमा राखेकै प्रावधानलाई अहिले पारित भएको विधेयकमा ल्याइएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइरालाले बताए । ‘केपी ओली नेतृत्वको सरकारले अध्यादेशमा जे प्रावधान राखेर ल्याएको थियो, अहिले त्यही ल्याएका छौं । अध्यादेशमा नभएको तर अहिले हामीले थपेको भनेको गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रावधान मात्रै हो,’ उनले भने ।
शुक्रवार संसदले पारित गरेको नागरिकता पहिलो संसोधन विधेयकले मूख्यत तीन वटा विषयलाई प्राथमिकता दिएको छ ।
पहिलो– जन्मको आधारमा नागरिकता पाएकाहरूको विषय ।
२०७२ सालमा संविधान जारी हुनुभन्दा पहिले नेपाल सरकारले जन्मका आधारमा नागरिकता जारी गरेको थियो । उनीहरूका सन्तानले नागरिकता पाउने विषय संघीय कानुन बमोजिम सम्बोधन हुने संविधानमा उल्लेख थियो । संघीय कानुन नबन्दा जन्मका आधारमा नागरिकता पाएका सन्तानहरुले नागरिकता पाउन सकिरहेका थिएनन । शुक्रवार फास्ट ट्रयाकमा सदनले पारित गरेको नागरिकता विधेयकले यो विषयलाई सम्बोधन गरेको छ ।
जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानका बाबु र आमा दुवै नेपालको नागरिक रहेको अवस्थामा १६ वर्ष उमेर पुगेका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने व्यवस्थाका लागि राजनीतिक दलहरुका बीचमा समेत कुनै विमति देखापरेको छैन । प्रस्तावित विधेयकअनुसार पारित भएर ऐन बनेपछि ३ असोज ०७२ भन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नेपालको नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था प्रस्तावित विधेयकमा छ ।
दोस्रो– आमाको नामबाट नागरिकता जारी ।
नेपालको संविधानले आमाको नामबाट नागरिकता जारी हुने भनेको छ । तर, संविधानअनुसार संघीय कानुन नबन्दा यो संवैधानिक व्यवस्था कार्यान्वयनमा आउन सकिरहेको थिएन । विधेयकले अब यो विषयलाई सम्बोधन गरेको छ । विधेयकअनुसार अब विधेयक प्रमाणिकरण भएपछि नेपाली आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजका आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ । तर, यसका लागि निवेदक आमाले ‘स्वघोषणा’ गर्नुपर्ने हुन्छ । बाबुको पहिचान हुन नसकेको भावमा गरेको ‘स्वघोषणा’ गरेर नागरिकता लिँदा झुटो विवरण पेस गरेको पुष्टि भएमा कारबाहीको भागीदार हुनुपर्नेछ ।
तेस्रो– गैरआवासीय नेपालीलाई नागरिकता ।
‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने नारा नै गैरआवासीय नेपालीहरुले लगाए । उनीहरुको यही मागलाई सम्बोधन गर्ने गरी अहिले विधेयक पारित भएको छ । सदनले पारित गरेको विधेयकअनुसार राजनीतिक र प्रशासनिक अधिकारबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकता जारी हुने विषय पनि विधेयकमा समावेश छ ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया