पुस्तक अंश
अधुरो भ्यालेन्टाइन

फेब्रुअरी १४ तारिख दिउसोतिर एकचोटि फेरि फोन गरेर सम्झाएँ । बेलुकी जानुपर्छ है भनेर । ‘हुन्छ । म यी बच्चाहरुलाई मःमः बनाएर दिदै गर्छु । तिमी आऊ न त । बच्चाहरुलाई हामीसँग लग्ने त होइन होला । उनीहरु पनि बाहिर जाने इच्छा गर्दैनन् ।’ डोल्माले भनिन् । ‘हुन्छ । हामी मात्रै जाउँला ।’ भनेर मैले फोन राखें । बूढीसँग बेलुकी जाने पक्का भएपछि एउटा खुसी पनि लाग्यो । किनभने यसरी सगस“गै बाहिर नगएको पनि धेरै भइसकेको छ । एउटा विशेष समय मिलाएर हामी बाहिर जाने मनस्थितिमा पनि थियौं । आजको दिन मैले त्यो विशेष समयको रुपमा लिएँ।
मैले पसल बन्द गर्ने जिम्मा जुवानितालाई छोडेर ६ बजेतिरै कामबाट निस्कें । उनलाई केही कुराहरु पनि बताएँ । कामबाट फुक्काफाल भएर निस्कदा एउटा खुसी मनमा थियो । न्युयोर्कको जीवनमा केही गति र पूmर्ति आएको देखिन्थ्यो । घरमा आउँदै गर्दा बाटोको फूल पसलमा छिरें । अनि (रातो) गुलाफको फूल किनेर सरासर घरमा आएँ । फूललाई डिनर पार्टीमा सप्राइज दिएर दिने सोच बनाएको थिएँ । त्यसैले फूललाई गाडीको पछाडि डिकीमा राखें ।
भरे दिने पूmल जतन र सुरक्षित गरेर राखें । आकस्मिक रुपमा यो पूmल दिउँला र वातावरण गहकिलो बनाउँला भन्ने योजना मनमनै बनाएँ मैले । डोल्मासँग बाहिर जान वातावरण मिलेकोमा आनन्दित भइरहेको थिएँ । वास्तवमा बूढीलाई लिएर बाहिर जाने स्थिति मिलेको थिएन । कुनै विशेष मौका पनि जुरेको थिएन । आज मिलेकोमा म हर्षित थिएँ ।
मलाई बाहिर डिनर जाने भनेपछि खुब मन पर्छ । अरु बेला महिनामा कम्तीमा एक दिन हामी सपरिवार डिनर गर्न कतै रेष्टुरेन्टतिर नियमित जान्थ्यौँ । तर कोरोना रोगको कारणले गर्दा विगत एक वर्षमा माउन्ट वासिङटन घुम्न जाँदाखेरि एक चोटि गएको बाहेक त्यसपछि रेष्टुरेन्टमा परिवारका साथ डिनर गर्ने वातावरण जुरेको थिएन ।

छोराहरु पनि उति साह्रो बाहिर जाने आँट गर्दैनथे । डोल्मालाई पनि निकै फकाउनु पथ्र्यो । तर, आजको दिन विशेष रुपमा उनले र मैले अनुभव गरेकोले मिलिरहेको थियो– संगसँगै जाने । घरमा पुग्दा डोल्मा बच्चाहरुलाई मः मः खुवाउँदै थिइन् । ‘ल अब रेडी हुनुपर्छ है’ भनेर म नुहाउन बाथरुमतिर छिरें । म नुहाएर निस्कँदा सम्ममा डोल्मा लुगा लगाएर निस्कन तयार भैसकेकी थिइन् । म पनि लुगा लगाएर तयार भएँ । हामी दुवै लगभग अन्तर्मनदेखि नै आज रमाएका थियौं । जे जस्तो भए पनि एक अर्काका लागि समय छुट्याएका थियौं ।
हामी त्यहाँबाट निस्किदै गर्दा साढे आठ बजेको थियो । एक छिन हामी जापानिज, अमेरिकन, इटालियन कुन रेष्टुरेन्टमा जाने भनेर डिस्कसन ग¥यौं । त्यो दिन डोल्माले इच्छाएको रेष्टुरेन्टमा जानुपर्छ भनेर मनमनै सोचेको थिएँ । आज उनको खुसी नै मेरो खुसी बनाएँ । आज उनले रोजेको परिकार नै मेरो स्वादमा सजाएँ । आज उनले मन पराएको खाना नै मेरो सन्तुष्टिको रुपमा बनाएँ ।
उनले ‘चिज केक फ्याक्ट्री’ मा जाने इच्छा जताइन् । चिज केक फ्याक्ट्री अमेरिकन रेष्टुरेन्ट हो । पहिला पनि बेला–बेला त्यस रेष्टुरेन्टमा जाने गरेकाले हामीलाई त्यहाँ पाउने मेनुको बारेमा राम्रै जानकारी थियो । डोल्माको रुचिअनुसार नै मैले पनि सहमति जनाएँ । त्यसो त मेरो मनोभावना पनि उनले बुझेकी थिइन् । त्यसैले पनि मलाई उनको स्वादसँग सजिन गाह्रो भएन ।
चिज केक फ्याक्ट्रीमा पाइने स्टेक र मास पटाटो मलाई खुब मन पथ्र्यो । डोल्मालाई त्यहाँको सुप मन पर्छ भन्थिन् । चिज केक फ्याक्ट्रीमा जाने भनेपछि मैले पनि एकै शव्दमा ‘हुन्छ’ भनें । मनमनै उनले रोजेको परिकारलाई मैले पनि रुचाएर धन्यवाद दिएँ ।
न्युयोर्कका केही पसल, व्यवसाय, रेस्टुराँ लगायत क्षेत्रमा आर्थिक गतिविधि बढिरहेको थियो । मान्छेहरु घरबाट बाहिर रेस्टुराँ, पार्क वा कफी सपतिर झ्याम्मिन थालिसकेका थिए । मानिसहरुको पातलो चहलपहलस“गै न्युयोर्कको सौन्दर्यमा निकै प्रगति भएको म बाटोमा गुडिरहँदा कुरा खेलाइरहेको थिएँ । गाडीलाई कुइन्स मलतिर मोडें । त्यो रेष्टुरेन्ट कुइन्स मलमा पर्छ । रेष्टुरेन्टको वरपर अघिल्लो दिन परेकोले हिउँले बाटोको पार्किङ साइटहरु हिवैहिउँ थियो । बल्लतल्ल एउटा कुनामा पार्किङ पाएँ । सोचेभन्दा छिटै पार्किङ पाएकोमा हामी मख्ख थियौं ।

न्युयोर्कका यी ठाउ कुनै समय रित्ता थिए । मान्छेको छायासम्म देखिदैन थियो । तर केही यता फेरि जीवनशैली बदलिएको थियो । गाडीहरु बेस्सरी थपिएका थिए । त्यसैले पार्किङको समस्या पनि ह्वात्तै बढेको थियो । त्यसपछि एकछिन पनि ढिलो नगरी हामी रेष्टुरेन्टमा छि¥यौं । त्यत्रो ठूलो रेष्टुरेन्टमा चार पाँचवटा मात्रै टेबुलमा मान्छेहरु थिए । बाँकी टेबुलहरु खाली–खाली थिए । डोल्मातिर हेर्दै ‘आज चाहिं लाइनमा नबसिकन बस्ने टेबुल पाउने भइयो’ भनें । उनी पनि खुसी भइन् । कोही आएर हामीलाई टेबुलतिर लैजाला भनेर ढोका नजिकैको रिसेप्सनमा रोकियौं ।
त्यतिन्जेल मैले वरपर हेरें । रेस्टुराँमा केही परिवर्तन भएको थिएन । लक डाउनमा खासै सुधार भएको थिएन, यहाँको साजसज्जामा । रंगरोगन उही पुरानै थियो । त्यतिकैमा एक जना वेटर आयो । ‘विई आर क्लोजिङ शुन । सो विइ केन नट टेक एनी न्यु कस्टुमर ।’ वेटरले भन्यो ।
उसका कुराले म ट्वाल्ल परें ।
‘बट् ह्वाई ?’ सोधें । किनभने हामीले कल्पना नै नगरेको कुरा उसको मुखबाट सुनिएको थियो । ‘टेन अ क्लक वीई मस्ट क्लोज द रेष्टुरेन्ट’ वेटरले भन्यो । मलाई त्यहाँ बसेर थप बहस गर्नु कुनै उचित लागेन । त्यसपछि हामी बाटो पारि रहेको ओलिभ गार्डेनमा ट्राइ मार्न गयौं । त्यहाँ पनि एक दुइटा टेबुलहरुचलिरहेका थिए । मन खिन्न हुँदै पाइला सारिरहेका थियौं । कता–कता मनमा चिसो पस्यो । तर, डोल्माले थाहा नपाऊन् भनेर त्यतातिर म सचेत भइरहेकै थिएँ । तर, रेष्टुरेन्टभित्र छिर्ने ढोका नै बन्द गरिएको रहेछ । त्यसपछि हामी फेरि त्यहाँबाट अलि पर रहेको स्टेक हाउसमा पनि खुलेको होला कि भनेर गयौं । त्यहाँ पनि त्यस्तै ढोकै बन्द गरिएको रहेछ । बल्ल पो बुझ्दैछु त इनडोर डाइनिङ्ग खोल्ने अनुमति दिए पनि १० बजेपछि सबै रेष्टुरेन्ट बन्द गर्नुपर्ने समय सीमालाई यथावत नै राखिएको रहेछ । मैले त त्यतातिर ख्यालै गरिनँ । आफ्नो अल्प ज्ञान र सूचनाबाट टाढा रहेको आफ्नो अवस्था देखेर दिक्क पनि लाग्यो । हामी त्यहाँ पुग्दा ९ः१५ भैसकेको थियो । त्यसपछि अरु रेष्टुरेन्टमा जाने सोचलाई त्यहीं स्थगित ग¥यौं । किनभने तोकिएको समयमा नपुगेर रित्तै फर्किनुभन्दा अहिले नै विकल्प सोच्नु ठीक ठानेँ मैले । हरेक एक मिनेटले हरेक एक मिनेट घटाइरहेको स्थितिमा हामी पाइला सारिरहेका थियौं ।
तीनवटा रेष्टुरेन्टमा ट्राई मार्दा पनि केही सीप नचलेपछि डोल्माले हाँस्दै– ‘लौ तिम्रो भेलाइन्टाइन यही हो?’ भनेर खितखित हाँसिन् । उनले बडो स्वभाविक रुपमा भनेकी थिइन् । कुनै टीका टिप्पणी वा घोचपेचभन्दा पनि परिस्थितिलाई विश्लेषण गरेर उनले अत्यन्तै सहज पारामा यो भनाइ भनेकी थिइन् । उनको कुराले म हाँसे । उनी त आफ्नो बोलीसँगै हाँसिरहेकी थिइन् । ओहो ! कस्तो (समय) छानिएछ । खिन्न हुँदै गाडी चलाउँदै छु । रुन्चे हाँसोको अवस्था पो भयो त ?

डोल्माको कुराले हृदय खाली–खाली भयो । उनका कुरा सुनेपछि मैले पनि हाँस्दै ‘लौ अब हामीलाई घरकै डिनर खाऊ भनेको रहेछ, घरतिरै फर्कौं’ भनेर गाडीको स्टेरिङलाई घरको दिशातिरै मोडें । घरी–घरी डोल्मा मतिर हेर्थिन् । तर, मैले पराजय पीडाको अनुभव गरिसकेको थिएँ– सोझै नहेरे पनि छड्के पाराले हेर्दै ।
धेरै दिनपछि रोमन्टिक डिनर गर्ने पाइने भइयो । डोल्मालाई गुलाफको फूल पनि दिउँला, एक छिन भए पनि रमाइलो गरेर बसौंला, वाइनको गिलासले चियर्स गर्दै भ्यालेइन्टाइन डे को विस गरौंला भनेर के–के सपनाहरू देख्दै गएको थिएँ । मूल कुरा श्रीमतीसँग खुसी साटेर बाहिरको संसारमा उनलाई रमाइलो गरिदिउँला भन्ने मैले देखेको सपना नराम्रोस“ग भत्किएको थियो । मनभरि कुराहरु खेलिरहेका थिए ।
सबै योजना चकनाचुर पो भयो । डोल्मालाई डिनर गर्न नपाएकोमा कत्ति पनि दुःख लागेको जस्तो लागेन । उनी त बाटोमा पनि बेलाबेला कुरा कोट्याउँदै हाँस्दै थिइन् । मलाई त अलि नमज्जा नै लागेको थियो तर उनलाई साथ दिनको लागि भए पनि सँगसँगै हाँसेजस्तो गर्दै घर फर्कियौं हामी । गह्रुंगा पाइला लिएर घरमा भित्रियौं । छोराहरुले त्यति धेरै ख्याल गरेनन् । उनीहरु आफ्नै तालमा थिए । म फ्रेस भएर मोबाइलमा व्यस्त भएँ । डोल्माले हात धुँदै भन्दै थिइन्– ‘धन्न मैले मः मःको मासु र मसला मोलेर तयार बनाइराखेकी थिएँ, नत्र त भ्यालेइन्टाइन डेमा त भोकै पो रहेन भइयो ।’ उनी हाँस्दै मःमः बनाउनतिर लागिन् । उनका कुराले फेरि मन चसक्क भयो । कति धेरै रहर र इच्छाले बनाएको यो माहोल आफ्नै कतिपय ज्ञानको अभावले खिन्न हुनु पथ्र्यो । बाहिर प्रतिक्रिया नदिए पनि भित्र–भित्र उदासी भएको थिएँ म । करिब सवा एघार बजेतिर मः मः तयार भयो । त्यति बेलासम्ममा मैले घरमै भएको रेड वाइनलाई दुईटा गिलासमा हालेर टेबुलमा पिउन तयारी अवस्थामा राखेको थिएँ । हामी मः मः खान टेबुलमा बस्यौं । त्यसपछि हामी दुबैले वाइनको गिलास उठायौं ।
मैले अर्को हातले रातो गुलाफलाई दिदै भ्यालेन्टाइनको विस गरेर भनें– ‘धन्न, बाह्र बजेभन्दा अगाडि नै विस गर्न पायौं । पन्ध्र तारिख नै पो छोला भन्ने पीर पो थियो त ।’ मेरो कुराले दुवैलाई गहिरो प्रभाव पारेको थियो । त्यसैले हामी दिल खोलेर एकचोटि गलल्ल हाँस्यौं । भ्यालेन्टाइन डेको यो हाँसोले आउ“दा वर्षका दिनहरु उज्याला, खुसी र समृद्धिले भरिऊन् भन्ने भाव पोखिएको मैले अनुभव गरें ।

पासाङ शेर्पाको हालै प्रकाशित ‘कोरोना कथा’ पुस्तकको एक अंशबाट साभार ।
प्रतिक्रिया