आइतबार, माघ ११, २०८२

सशस्त्रमा ज्वाई आतंकः आइजीपीको फूली ताक्न रकेट यात्रा तय

मेरोन्यूज २०७९ साउन ९ गते ८:२५


काठमाडौ । सशस्त्र प्रहरीमा प्रधानमन्त्री शेरबहादुर देउवाको स्वकीय सचिव भानु देउवा हाबी भएका छन् । सशस्त्र प्रहरी नियमावली नै संशोधन गरेर एक जना व्यक्तिलाई पहिलो सूचीमा बढुवा गर्न उनी हाबी देखिएका छन् । पुरानो लटबाट सर्वश्रेष्ठ बनाइएका प्रदिप कँडेललाई चाडै अवकाश पाउने भएपछि वालुवाटारको दबाबमा दिपेन्द्र कुँवर ‘ख’को दोस्रो नम्बरमा बढुवा गरिएको छ ।


उनी आफ्नो व्याचमा १० नम्बरमा थिए । तर एकै पटक दोस्रो नम्बरमा ल्याइएको छ । यसो गर्दा उनलाई एक नम्बरमा डिआइजी हुने बाटो खुलेको छ । एक नम्बरमा डिआइजी भए आइजीपी हुने बाटो सहज रुपमा खुल्नेछ । उनी अहिले भावी आइजीपीको रकेट यात्रामा लागेका छन् ।

एसपीमा उनको वरियता भर्ना टोलीमध्ये १० औँ स्थानमा थियो । कुँवरकै लागि सरकारले डेढ महिना अघि सशस्त्र प्रहरी नियमावली संशोधन गरेको थियो । एसएसपीमा बढुवा हुन एसपीमा कम्तीमा ४ वर्ष काम गरेको हुनुपर्नेमा कुँवरलाई बढुवा गर्न त्यसलाई ३ वर्षमा घटाइएको थियो जसले गर्दा उनीहरू बढुवाका लागि योग्य बनाइएका थिए ।

दीपेन्द्र कुँवर ‘ख’ सहित ३४ जना २०७५ चैतमा एसपीमा बढुवा भएका थिए । एसएसपीमा दरबन्दी रिक्त भएपछि कुँवरसहित ११ जनालाई गत कात्तिकतिर कामु एसएसपी दिइएको थियो ।

थप तीनजनाले गत वैशाखमा कामु एसएसपीको जिम्मेवारी पाएका थिए । कामु पाएका सबै १४ जनासहित अन्य दुईजना यसपटक एसएसपीका लागि सिफारिस भएका हुन् । यसअघि सशस्त्र प्रहरीमा कामु एसएसपी भएको झन्डै डेढ वर्षपछि मात्र केही समयअघि उनीहरू बढुवा भएका थिए ।


कामु जिम्मेवारी दिँदा अघिल्लो दर्जाकै वरीयताक्रम कायम रहन्छ । यसपटक एसएसपीमा सिफारिस भएका १६ जनामध्ये पहिलो नम्बरमा रहेका प्रविण कँडेलले २०५५ सालमा सेवा सुरू गरेका हुन् । दोस्रो नम्बरमा कुँवर छन् भने तेस्रो नम्बरमा रहेका विष्णुप्रसाद भट्ट एसपी रहँदा आफ्नो भर्ना ब्याचमध्ये पहिलो नम्बरमा थिए । कुँवरसहित हाल सिफारिस भएका भुपेन्द्र केसी, उद्धवबहादुर न्यौपाने, नरेन्द्र सेन, नीरकृष्ण अधिकारी, शंकर खनालले डीएसपीबाट एसपीमा बढुवा हुँदा नै छलाङ मारेका थिए । कुँवरसँगै छलाङमा मार्नेमा खनाल पनि रहेका छन् ।


नेपाल प्रहरीको प्राविधिक सइबाट सशस्त्रमा छिरेका कँडेलको पक्षमा माओवादी केन्द्रको दबाबमा रहेको थियो । उनी कार्यक्षमतामा कमजोर भएपनि गठबन्धन सरकार भएकाले वालुवाटारले कँडेलको बढुवामा दबाब दिएका थिए । एसएसपी कुँवरको विषयमा भने प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाको कडा दबाब रहेको थियो ।

सशस्त्रको स्टाफ कलेज पढ्न नाम समेत ननिकालेका उनलाई तत्कालिन समयमा देउवाकै पहलमा सेनाको स्टाप कलेज पढ्न पठाइएको थियो । त्यतिबेला आफ्नो व्याचमा ११ औ नम्बरमा रहेका कुँवर बढुवा हुने अवस्था नआएपछि लामो समय कामु एसएसपीको बढुवा रोकिएको थियो ।


यसअघि पनि सशस्त्रमा एसपी बढुवामा धेरै व्यक्तिहरु छुटेका थिए । ३७ जना बढुवा गर्दा २१ नम्बरका गुणराज न्यौपाने, २३ नम्बरका क्षितिज क्षेत्री, २४ नम्बरका प्रेम प्रसाईं, २७ नम्बरका विश्वबन्धु खड्का, २८ नम्बरका नवीनकुमार खड्का, ३० नम्बरका मोहनबहादुर क्षेत्री, ३१ नम्बरका आनन्द थापा मगर, ३२ नम्बरका खगेन्द्रबहादुर चन्द बढुवामा छुटेका थिए । उनीहरुभन्दा धेरै पछि रहेकाहरु अघि आउदा छुटेका हुन् । त्यसैगरी प्रहरी नीरिक्षकबाट डिएसपीमा बढुवा हुँदा कार्यक्षमतामा निकै अब्बल रहेका सूवर्ण थापालाई बढुवामा रोकिएको थियो ।

प्रतिक्रिया