एघारदेखि १३ वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाउन सुरु

भरतपुर महानगरपालिकाका किशोरीलाई मङ्गलबारदेखि एचपिभी खोप लगाउन सुरु गरिएको छ । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप ११ देखि १३ वर्ष उमेर समूहका किशोरीलाई लगाइन्छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा एक कार्यक्रमको आयोजना गरी वडा नं ७ बाट खोपको शुभारम्भ गरिएको छ । यो खोप क्यान्सर अस्पतालमै लगाइनेछ । कार्यक्रमको उद्घाटन गर्दै भरतपुर–७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले यो खोप लगाउनु पाउनु नै ठूलो कुरा भएको बताए । धेरै प्रयासपछि खोप ल्याइएको भन्दै उनले यो उमेर समूहका सबैले खोप लगाउन आग्रह गरे ।
कार्यक्रममा अस्पतालका निमित्त कार्यकारी निर्देशक डा कृष्णसागर शर्माले पहिलो चरणमा माडी नगरपालिकाका ६९९ किशोरीलाई यो खोप लगाइएको जानकारी दिए ।
अस्पतालले १२ हजार खोप ल्याएको जानकारी दिँदै उनले वडा नं ७ का किशोरीलाई लगाइसकेपछि जिल्लाभरका सरकारी विद्यालयका किशोरीलाई अभियानका रुपमा लगाइने बताए । उनका अनुसार साउन २७ देखि ३१ गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन गरिनेछ ।
क्यान्सर अस्पतालले जिल्लाका ११ देखि १३ वर्ष उमेर समूहका छ हजार किशोरीलाई यो खोप लगाउँदैछ । डा शर्माले १२ हजार खोप आएको जानकारी दिँदै एक जनालाई छ महिनाको फरकमा दुई पटक खोप दिनुपर्ने बताए।
यो एचपिभी खोप लगाएपछि भाइरसको संक्रमणबाट बचाउँछ । यो खोपले पाठेघरको मुखको क्यान्सरको मात्र नभई यौनीको क्यान्सर, मलद्वारको क्यान्सर, मुखको क्यान्सरबाट समेत बचाउँछ । विश्वका धेरै देशमा लगाइएको यो खोपको खासै साइड इफेक्ट छैन । कसैकसैलाई यो खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्ने, एलर्जी हुने लक्षण देखा पर्नसक्ने चिकित्सकले बताएका छन् ।
धेरै जनासँग असुरक्षित यौन सम्पर्क गरेमा, सानै उमेरमा विवाह भएमा वा सानै उमेरदेखि यौनजन्य क्रियामा सहभागी भएमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै बच्चा जन्माएमा, पटकपटक गर्भपतन गराएमा, धुमपान गरेमा, लामो समयसम्म हर्मोनयुक्त परिवार नियोजनका साधन प्रयोग गरेमा पाठेघरको मुखको क्यान्सर हुनसक्ने विज्ञले बताएका छन् ।
एक अध्ययनले पाठेघरको मुखको क्यान्सर एचपिभी खोप लगाउँदा ९० प्रतिशत जतिले घटाउने देखाएको छ । यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ र यसले हरेक वर्ष तीन लाख महिलाको ज्यान जाने गरेको छ ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया