शुक्रबार, फागुन १, २०८२

शनिबारसम्म देशभर वर्षा हुने

मेरोन्यूज २०७९ साउन १२ गते १०:४०

काठमाडौँ । आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुन सक्रिय रहेकाले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गंगा नगरकोटीले जानकारी दिए ।

Advertisement
nepal life insurencenepal life insurence

‘प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ,’ उनले भने । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।

विभागले आगामी २४ घण्टा देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको साथै प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको तथा उक्त भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ ।

रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया