सीपी मैनालीलाई सूर्य चिन्हमा चुनाव लड्न एमालेको प्रस्ताव

काठमाडौँ । नेकपा एमालेले नेकपा मालेका नेता सीपी मैनालीलाई सूर्य चिन्हबाट चुनाव लड्न प्रस्ताव गरेको छ । एमालेका धेरै जसो नेता कार्यकर्ताले मैनालीलाई पार्टीमा ल्याउन आग्रह गरिरहेका बेला आगामी संघीय निर्वाचनमा मैनालीलाई सूर्य चिन्हबाट चुनावमा जान आग्रह गरेको हो ।
‘उहाँलाई हामीले सूर्य चिन्हबाट चुनाव लड्नुस् भनेका छौँ, तर निर्वाचनको बेलासम्म परिस्थिति के आइपर्छ थाहा भएन’, एमालेका एक स्थायी कमिटी सदस्यले भने । ती स्थायी कमिटी सदस्यले भने झै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा नरहेका कम्युनिस्ट पार्टीलाई एकतामा आउन आह्वान गरे । मंगलबार कम्युनिष्ट नेता तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उनले चुनावी तालमेल नभई पार्टी एकतामै आउन आह्वान गरेका हुन् । सीपी मैनाली पनि सोही मञ्चमा भएका बेला सो आग्रह गरेका हुन् ।
‘ए बाबा ठूलो भाँडामा पकाएको ढिँडो खाऔं न फेरि यत्रो भाँडो के ?, आउनुस् सँगै मिलेर काम गरौँ र यत्रो चुनौती प्रतिक्रियावादीले खडा गरेका छन,’ उनले भने, ‘के हामीले चुनावी तालमेल गरेर उनीहरुजस्तो चुनावी तालमेल गर्ने हो र ?’ ओलीले सँगै मञ्चमा रहेका सीपी मैनालीलाई सम्बोधन गर्दै आफूहरु एउटै आन्दोलनबाट आएको र अलग बस्नु पर्ने कुनै कारण नभएको बताए । ‘हामी सबै देशको विरुद्ध छैनौँ, यही नै एकताको आधार हो,’ उनले भने ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि गठबन्धन बेठीक हो भनेर आएमा विचार गर्न सक्ने ओलीले बताए । ओलीको सो प्रस्ताव राख्नुअघि एमालेका उपाध्यक्ष विष्णु पौडेलले मैनालीलाई सूर्य चिन्हबाट निर्वाचन लड्न प्रस्ताव गरेको स्रोतको दाबी छ । तर, मैनालीले त्यसबारे कुनै ठोस जवाफ दिएका छैनन् ।
विगतमा ओली सरकारमा उपप्रधानमन्त्री भएका मैनाली उपयुक्त स्थान पाए पार्टी एकीकरण गर्ने पक्षमा रहेको स्रोतको दाबी छ । एमालेले सकेसम्म पार्टी एकता गराउने र नभए सूर्य चिन्हबाट निर्वाचनमा सहभागी गराउने तयारीमा रहेको स्रोतले जनायो ।
यसअघि एमालेको सूर्य चिन्हबाट हृदेयश त्रिपाठीलगायतका नेताहरुले सूर्य चिन्हबाट चुनाव लडेका थिए । एमाले यसपटक साना दलहरु नेकपा विप्लव समूहका नेतालाई पनि सूर्य चिन्ह प्रस्ताव गर्ने तयारी गरेको छ । यसैगरी तराई मूलका क्षेत्रीय दलहरूलाई सोही प्रस्ताव गर्ने तयारी गरेको छ ।

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया