शनिबार, फागुन २, २०८२

सप्तकोशी कटानमा प्रभावितलाई उद्धार र राहत ब्यवस्थापनमा कमी हुन नदिन गृहमन्त्रीको निर्देशन

परराष्ट्रमन्त्री डा. खड्कासँग पनि छलफल

मेरोन्यूज २०७९ साउन १८ गते ९:४९

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले उदयपुरको बेलका नगरपालिकाका वडा नं १, २, ८ र ९ मा सप्तकोशी नदीमा पानीको बहाब बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सप्तकोशीको पानीको बहाबले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेकाले नजिकै रहेका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम गृहमन्त्री खाणको निर्देशनमा सुरु भइसकेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास बोहोराले जानकारी दिए ।

गृहमन्त्री खाणले बेलकामा सप्तकोशीको कटानबारे परराष्ट्रमन्त्री डा।नारायण खड्कासँग पनि छलफल गरेका छन् ।

‘कटानबाट प्रभावित हुने बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे छलफल भयो,’ परराष्ट्रमन्त्रीसागको छलफलबारे गृहमन्त्रीको नीजि सचिवालयले भन्यो । परराष्ट्रमन्त्री डा। खड्काको गृहजिल्ला उदयपुर हो ।


गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, प्रदेश १ का नेपाल प्रहरीका प्रमुख नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश १ का सशस्त्र प्रहरी बलका प्रमुख नायब महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख उपरीक्षक कृष्ण अधिकारी र सिँचाई विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरेर तत्काल उद्धार, राहत र तत्कालका लागि अस्थायी बासस्थानको व्यवस्था गर्न र त्यसका लागि के के आवश्यक पर्ने हो मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएका थिए ।

गृहसचिव पाण्डे र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई उदयपुरमा तत्कालका लागि आवश्यक पर्ने उद्धार र राहतका सामग्री तयार गरी पठाउन निर्देशन दिएका थिए । कटानले सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचमा प्रभावित बनाएको छ ।


विपद्मा परेकाहरूलाई अस्थायी बासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उपचारमा कुनै कमी हुन नदिन गृहमन्त्री खाणले मन्त्रालय मातहतका निकाय र सम्बन्धित सरोकारवाला निकाय सबैलाई निर्देशन दिएका छन् ।


कटानका कारण दुई हजार चार सय घरधुरी प्रभावित हुने प्रहरीका प्रदेश १ प्रमुख डिआइजी गिरीले जानकारी दिए । उनले अहिले जोखिममा रहेका बस्तीका नागरिकलाई नजिकका सार्वजनिक स्थान र आफन्तकोमा पठाउने काम भइरहेको बताए ।


नदीको कटानलाई रोकेर त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरणको विकल्प नभएको प्रहरीका उदयपुर प्रमुख एसपी बोहोराले बताए । आफूहरुले गृहमन्त्री खाणले त्यही विषय जाहेर गरेको र त्यसपछि बस्तीमा रहेका नागरिकलाई सुरक्षित स्थानमा राख्न निर्देशन भएपछि त्यही अनुरुप आफूहरुले काम गरिरहेको बाहोराले बताए ।


केही दिन अघि पनि सप्त कोशीमा बाढी आएपछि कटान रोक्न बनाइएका संरचना नदीले बगाइसकेको पनि उनले बताए ।

प्रतिक्रिया