आइतबार, माघ ४, २०८२

एक वर्षमा नेपालीले खाए दुई अर्ब रुपैयाँको काजु र बदाम

मेरोन्यूज २०७९ साउन २२ गते १९:४२

काठमाडौँ । एक वर्षमा विभिन्न देशबाट दुई अर्ब रुपैयाँभन्दा बढीको काजु र बदाम नेपालमा भित्रिएको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८–७९ मा उक्त रकम बराबरको काजु र बदाम नेपाल भित्रिएको हो ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले कूल दुई अर्ब एक करोड ४४ लाख रुपैयाँको काजु र बदाम आयात गरेको विभागले जनाएको छ । सोही अवधिमा २७ लाख ४८ हजार ९५५ केजी काजु र बदाम नेपाल भित्रिएको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष एक अर्ब १७ करोड २५ लाख ७९ हजार रुपैयाँको १४ लाख ३४ हजार २१० केजी काजु र ८४ करोड १८ लाख २३ हजार रुपैयाँको १३ लाख १४ हजार ७४६ केजी बदाम नेपाल भित्रिएको थियो । नेपालमा भारत, भियतनाम, अष्ट्रेलिया, चीन, हङकङ, जापान, मोजाम्बिक, नाइजेरिया, सिंगापुर र दक्षिण अफ्रिकाबाट काजु आउने गरेको छ ।

यस्तै, भारत, अमेरिका र अफगानिस्तानबाट बदाम आउने गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा नेपालले विभिन्न देशबाट दुई अर्ब ८ करोड ४७ लाख ९३ हजार रुपैयाँको काजु र बदाम आयात गरेको थियो ।

प्रतिक्रिया