आइतबार, माघ ११, २०८२

२१ सय थान लागु औषधसहित भारतीय नागरिक पक्राउ

मेरोन्यूज २०७९ भदौ ४ गते १६:०७

काठमाडौँ । बाराको कलैया उपमहानगर २० बाट दुई जना भारतीय नागरिक लागु औषधसहित पक्राउ परेका छन् । प्रहरी चौकी बसन्तपुरले गण्डक नहर चोकबाट शनिबार उनीहरूलाई पक्राउ गरेको हो ।

भरतको बिहारबाट नेपाल आएको बिआर ३० आर ९३९१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले भारत बिहार मोतिहारी जिल्ला महुअवा थाना ग्राम पञ्चायत कोरैया १ का ३२ वर्षीय चन्दन मिश्रा र २ का २५ वर्षीय धर्मजित कुशवाहालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूको पिठ्युमा बोक्ने झोलाभित्र लुकाएर नेपालमा बिक्रीका निम्ति ल्याएको डाइजेपाम, फेनारगन र नुर्फिन ६–६ सय थान र नाइट्राभेट १० तीन सय थान लागु औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

लागु औषध फेला परेपश्चात उनीहरू सवार मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय बारा ल्याइएको छ । खुल्ला सीमाले बारा लागु औषध कारोबारीका लागि मुख्य ट्राञ्जिट बन्दै आएको छ ।

प्रतिक्रिया