आइतबार, फागुन १०, २०८२

घनश्याम भुसाललाई चुनौती, विष्णु पौडेल र खिमलाल सर्वसम्मत सिफारिस

मेरोन्यूज २०७९ भदौ १९ गते १६:३४

काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसाल रुपन्देही क्षेत्र नम्बर ३ बाट संघीय निर्वाचनका लागि उम्मेदवारमा सिफारिस भएका छन् । नेता भुसालसँगै सोही क्षेत्रबाट वासुदेव घिमिरेको नाम पनि सिफारिस भएको छ । भुसाल स्थायी कमिटी सदस्य हुन् भने घिमिरे तिलोत्तमा नगरपालिकाका निवर्तमान मेयर हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेता भुसाललाई घिमिरेले चुनौती दिन सक्ने आकलन गरिएको छ । उनले तिलोत्तमा नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाएको भन्दै यस क्षेत्रमा लोकप्रिय रहेका छन् । यता पार्टी अध्यक्ष केपी शर्मा ओलीले लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने बताउँदै आएका छन् ।

यस्तै, उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल रुपन्देही निर्वाचन २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसममत सिफारिस भएका छन् । क्षेत्रीय कमिटीको बैठकले पौडेलको एकल नाम सिफारिस गरेको हो ।

पौडेल ०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर रुपमा यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । ०६४ सालको संविधानसभा निर्वाचनमा उनले कांग्रेसका नेता सूर्यप्रसाद प्रधानलाई हराएका थिए ।

यस्तै, ०७० सालको निर्वाचनमा तत्कालिन माओवादी नेता डा. बाबुराम भट्टराईलाई पराजित गरेका थिए । यस्तै, गत आम निर्वाचनमा पौडेलले कांग्रेस नेता युवराज गिरीलाई २२ हजारभन्दा बढी मतान्तरले हराउँदै विजयी भएका थिए ।

रुपन्देहीलाई विकासको रोलमोडल जिल्ला बनाउने भन्दै विकासका योजना अगाडि बढाइरहेका पौडेलले विकासप्रेमी नेताको रुपमा आफ्नो पहिचान बनाएका छन् । बुटवल-भैरहवा ६ लेन सडक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, तिनाउ–दानव कोरिडोर, बुटवल-नारायणगढ चार लेन सडक उनकै पहलमा अघि बढेका ठूला आयोजना हुन् ।

एमाले क्षेत्रीय कमिटी क्षेत्र नम्बर ५ को बैठकले खिमलाल भट्टराईलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा सर्वसम्मत सिफारिस गरेको छ । उनी राष्ट्रिय सभाका सचेतक हुन् । क्षेत्रीय कमिटीले उनको नाम मात्रै उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

प्रतिक्रिया