आइतबार, माघ ११, २०८२

अभियुक्त भगाउने मुस्लिम आयोगका अध्यक्षलाई सरकारले कारबाही गर्ला ?

७५ सालमा उनीमाथि नक्कली नागरिकता बनाएको आरोप थियो

मेरोन्यूज २०७९ भदौ १९ गते १८:५७


काठमाडौँ । गत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ८ः४५ बजे प्लाई दुबईको विमान अवतरण भयो । उक्त विमानमा अरब सांसदका उपाध्यक्ष मोहमद अहमद अल्माही, युएईका फेडरल नेशनल काउन्सिल सदस्य महमद हमाद मोहमद अब्बुसेब अल्सुमाइदीसहित पाँच जना नेपाल भ्रमणको लागि आएका थिए । उनीहरूकै समूहमा छैटौं व्यक्ति पनि थिए । उनी हुन्- नेपालकै सुनसरी जिल्लाका ३० वर्षीय रिजवान आलम ।

रिजवान आलम ती व्यक्ति हुन्, उनीविरुद्ध गत कात्तिकमा ठगीको मुद्दा दर्ता भएको थियो । फरार सूचीमा रहेका रिजवान अरब सांसदका उपाध्यक्ष मोहमदसँगै त्रिभुवन विमानस्थलको भीआईपी कक्षमा बसेका थिए । आलमले दाउद हुसेनका छोरालाई दुबईमा पाइलट कोर्स गराइदिने भनेर एक करोड रुपैयाँ बढी लिएका थिए । तर, कोर्स गर्न नपाएपछि आफू आलमबाट ठगिएको भन्दै हुसेनले प्रहरीमा जाहेरी दिएका थिए ।

हुसेनको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले २७ फागुन २०७८ मा जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति मागेको थियो । तर दुबईमा बस्दै आएका आलम नभेटिएपछि प्रहरीले फरार प्रतिवादी बनाएर मुद्दा अघि बढाएको थियो ।

उनलाई पक्राउ गरिदिन भन्दै काठमाडौं प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को नेशनल कन्ट्रोल ब्यूरो काठमाडौँलाई पत्राचार गरेको थियो । त्यसअनुसार आलमविरुद्ध डिफ्यूजन नोटिस जारी हुने प्रक्रिया अघि बढेको थियो । त्यसलगत्तै गत चैत २७ मा काठमाडौँ जिल्ला अदालतले आलमसहितका आरोपितविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

उनलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ । पक्राउ पर्दा उनी अध्यक्ष अन्सारीसँगै थिए । पक्राउ पर्नुपूर्व दुबईबाट नेपाल आएका उनी भीआईपी कक्षमा बसेका थिए । कालो सूचीमा रहेको पार्सपोर्ट नदेखाई भीआईपी कक्षमा बसेका उनलाई मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भगाएको आरोप छ ।

पासपोर्ट विमानस्थलमै छाडेर भीआईपी कक्षबाट भागेका आलमलाई मुस्लिम आयोगका अध्यक्ष अन्सारीले आफ्नै गाडीमा राखेर नक्सालस्थित मेरियट होटेल पुर्याएका थिए । प्रहरीको सीसीटीभी फुटेजमा पनि त्यो स्पष्ट देखिन्छ । यद्यपि आयोगका अध्यक्ष अन्सारीले भने अर्को गाडीमा सिट नपुगेर रिजवानलाई आफ्नै गाडीमा होटल पुर्याइएको बताएका छन् ।

अध्यागमनले कालो सूचीमा रहेका व्यक्ति उपस्थित गराइदिन भन्दाभन्दै भगाइएपछि प्रहरीले रिजवानको खोजी गरेको थियो । त्यस क्रममा प्रहरीले अध्यक्ष अन्सारीलाई फोन गरेर रिजवानलाई बुझाइदिन आग्रह गरेको थियो । अनधिकृत रूपमा प्रवेश गरेकोमा रिजवानलाई कारबाही गरी अदालतमा बुझाउने प्रहरीको तयारी छ ।

मुस्लिम आयोगका अध्यक्षलाई सरकारले के गर्ला ?

भीआईपी कक्ष दुरुपयोग गरेको र अभियुक्तलाई भगाउन प्रयास गरेका मुस्लिम आयोगका अध्यक्षलाई सरकारले के गर्ला ? भन्ने प्रश्न पछिल्लो समय उठेको छ । अन्सारीले भने अध्यागमनमा ढिलाइ भएपछि होटेलमा गएर आराम गर्ने गरी रिजवानलाई लिएर गएको बताएका छन् ।

मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि समेत मुद्दा चल्न सक्ने एक प्रहरी अधिकारीले बताएका छन् । सरकारले उनलाई कारबाही गर्ने तयारी गरेको छ । छानविन समिति गठन गरेर उनलाई करबाही गर्ने तयारी गरेको गृहमन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

अन्सारी पहिलो पटक विवादमा फसेका भने होइनन् । यसअघि समेत उनी पटकपटक विवादमा फसेका थिए । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा समेत उनले भोट किन्नका लागि पैसा बाँडेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनले भोटर खरिद गर्न आचार संहिता विपरीत पैसा बाँडेपछि जनकपुरस्थित उनी बसेकै होटलमा नेकपा (एमाले)का कार्यकर्ताले समेत उनलाई घेराउ गरेको थियो ।

त्यस्तै अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको दाबीसहित संसदीय सुनुवाइ विशेष समितिमा उजुरी समेत परेको थियो । संसदीय सुनवाइ समितिमा अन्सारीविरुद्ध गत २०७५ साल फागुन ५ गते ४ वटा उजुरी परेको र ती गम्भीर प्रकृतिका रहेका थिए ।

अन्सारीको जन्म भारतमा भएको तर उनले नेपालमा नक्कली आमाबुवा बनाएर काठमाडौंबाट नागरिकता लिएको उजुरीमा दाबी गरिएको थियो । भारतको विहार राज्यअन्तर्गत मोतीहारी जिल्लाको पहाडपुर थानाग्राममा अन्सारीको जन्म भएको उजुरीकर्ताको दाबी रहेको थियो ।

अन्सारीले काठमाडौंस्थित मुस्लिम मदरसाबाट ९ कक्षा मात्र उत्तीर्ण गरेको तर भारतको बिहारस्थित मगध विश्वविद्यालयबाट स्नातकको नक्कली शैक्षिक प्रमाणपत्र लिएको उजुरीमा दाबी गरेको थियो । काठमाडौँ मदरसाबाट ९ कक्षा उत्तीर्ण गरेका अन्सारीको प्रमाणपत्र तहको सर्टिफिकेटको अवस्था नखुलेको, सन् २००४ मा स्नातकको सर्टिफिकेट लिएका अन्सारीले १४ वर्षपछि (सन् २०१८) मा मात्र नेपालबाट इक्विभ्यालेन्ट गराएको उजुरीमा छ ।

प्रतिक्रिया