बिहीबार, पुष १०, २०८२

विदेश जाने बढेपछि श्रीलङ्कामा बढ्यो रेमिटेन्स

मेरोन्यूज २०७९ भदौ २७ गते १५:१८

काठमाडौँ । श्रीलङ्काली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले विदेशिएका श्रीलङ्कालीबाट प्राप्त रेमिटेन्सले आर्थिक सङ्कटमा परेको देशमा राहात मिलेको बताएका छन् ।

उनले उनीहरूबाट पठाइएको रेमिटेन्स रकम अगष्ट महिनासम्ममा ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको उनको भनाइ थियो । उनले वैदेशिक रोजगारीमा गएका श्रीलङ्कालीबाट प्राप्त भएको रेमिटेन्स रकम पछिल्ला दिनमा बढ्दो रहेको भन्दै यसबाट वैदेशिक मुद्राको खाँचो परेको देशमा सहज भएको बताए । उनले गत जुलाई महिनाको तुलनामा अगष्ट महिनामा रेमिटेन्स रकम १४.६ प्रतिशतले बढेको पाइएको जानकारी दिए ।

उनले रेमिटेन्स रकम पठाउने व्यक्तिलाई विशेष धन्यवाद दिएका छन् । ‘देश आर्थिक सङ्कटमा परेका बेला विदेश पुगेका नागरिकबाट प्राप्त रेमिटेन्स रकमका लागि विशेष धन्यवाद छ,’ मन्त्री नानकायराले भने ।

गएको वर्षदेखि आर्थिक सङ्कटमा फसेको दक्षिण एसियाली मुलुक श्रीलंकामा वैदेशिक रोजगारीका लागि देश छोडेर जानेको संख्या बढ्दै गएको पाइएको छ । यस वर्षमात्र यहाँका दुई लाखभन्दा बढी व्यक्तिले वैदेशिक रोजगारीका लागि विदेशिएका पाइएको बताइएको छ ।

श्रीलंकाका श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री नानायक्काराले सो कुराको जानकरी दिएका हुन् । उनले यसै वर्षको जनवरीदेखि अगष्ट महिनासम्ममा ती नागरिकले श्रीलङ्काको वैदेशिक रोजगार विभागमा दर्ता गराएर नै वैदेशिक रोजगारीका लागि गएको जानकारी दिए ।

प्रतिक्रिया