ली चान्शुको भ्रमणसँगै खुल्यो तातोपानी र रसुवा नाका

काठमाडौँ । झण्डै एक महिना बढी समयदेखि कोभिड–१९को सङ्क्रमण बढेको भन्दै बन्द भएका तातोपानी र रसुवातर्फका नाका आजदेखि खुलेका छन् ।
नेपालको चार दिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति पश्चात नाका खुलेको बताइएको छ । साथै कोभिड–१९को सङ्क्रमण घटेकाले पनि दुवै नाका आजदेखि सञ्चालन गरिएको समेत जनाइएको छ ।
नाका खुलेसँगै रसुवाबाट बिहान सात ठुला कन्टेनर सामान नेपाल भित्रिसकेको र बाँकी सात कन्टेनर साँझसम्म आइपुग्ने भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले राससलाई जानकारी दिए। रसुवा नाकाबाट यसअघि दैनिक ठूला १४ कन्टेनर समान आउने गरेका थिए । तातोपानी नाकाबाट रसुवा नाकाको तुलनामा केही कम सामान आउने गरेको र बढी फलफूल आउने गरेको विभागले जनाएको छ ।
अध्यक्ष लीको भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्तामा नेपालका तर्फबाट ती नाका खुला हुनुपर्ने आवाज उठेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासँग मङ्गलबार भएको अध्यक्ष लीको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थी फिर्ता, यात्रु उडान सुरु गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
भेटवार्ताका अवसरमा अध्यक्ष लीले चीनले तिब्बतमा कोभिड–१९ को सङ्क्रमण कम भएसँगै सीमा बन्दरगाह खोल्ने र नेपालमा आगामी चाडपर्वका लागि सामान र अत्यावश्यक सामग्री ओसारपसार गर्ने कन्टेनरलाई सहजीकरण गर्ने आश्वस्त पारेका थिए । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट नेपाल भ्रमणमा आएका थिए ।
भ्रमणका क्रममा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । सभामुख सापकोटा र अध्यक्ष लीले सोमबार संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
अध्यक्ष ली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीको शिष्टाचार भेटवार्ता भएको थियो । अध्यक्ष ली भ्रमण सम्पन्न गरी आज बिहान विशेष विमानबाटै फर्किएका हुन् ।















लमजुङमा वृद्ध मृतावस्थामा फेला
माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण
Police seized illegally traded goods in Rupandehi
Fire destroys 330 hectares of forest in Jumla
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया