भिजिट भिसामा यूएई पुगेका ९ नेपाली युवा ११ महिनादेखि जेलमा

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) को फुजेरामा ११ महिनादेखि नाै नेपाली युवा जेलमा रहेका छन् । उनीहरूलाई यूएईको फुजेरास्थित सेन्ट्रल जेलको उड ब्लकमा राखिएको छ ।
उनीहरु ‘भिजिट भिसा’ मा यूएई पुगेका थिए । जेलमा थुनिनेहरुमा धरानका साजन राई, स्याङ्जाका शिवबहादुर थापा, ललितपुरका हिमाल श्रेष्ठ, सिन्धुलीका बुद्धिबहादुर थिङ, नवलपरासीका चोपबहादुर पुन, दोलखाका लक्ष्मण घिमिरे, सिन्धुपाल्चोकका प्रकाश भुँजेल, सिन्धुपाल्चोककै विनोद लामा र पाल्पाका सूर्यबहादुर नेपाली छन् ।
पीडितहरूले विनाकारण जेलमा परेको भन्दै आबुधावीस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईसमक्ष उद्दारका लागि गुहार मागेका छन् ।
दुतावास र एनआरएनएलाई पठाएको पत्रमा उनीहरूले ११ महिनादेखि विना कसुर जेलमा फसेको उल्लेख गरेका छन् । ‘हामीहरू फरक फरक एजेण्टमार्फत भिजिट भिसामा आएका थियौँ । इन्टरनेट सिटीमा रहेको एक चाइनिज व्यक्तिले भिसा लगाइ दिन्छु भन्दै आठ महिनासम्म बन्धक बनाएर राखेको थियो,’ पत्रमा उल्लेख छ ।
दुबई पुगेपछि इन्टरनेट सिटीमा चिनियाँ नागरिकले एउटा भिल्लामा खाना बनाउने, सरसफाइ गर्ने आदि काम दिएकाे र घर बाहिर कतै जान नदिएको उनीहरूले बताएका छन् । ‘हामीहरूमध्ये कोही राति भागेर अलपत्र परेका थियौं र भाग्न नसक्ने त्यही बसेर काम गरिरहेका थियौँ,’ पीडितहरूको भनाइ छ, ‘चिनियाँ नागरिक के गर्थे हामीलाई थाहा हुन्न थियो ।’
त्यहाँबाट भाग्ने प्रयास गरेको तर सफल नभएको उनीहरूको भनाइ छ । ‘भाग्ने कोसिस गर्दा पनि सकिरहेका थिएनौँ । पछि अचानक पुलिस आएर समातेर लग्यो,’ उनीहरूले भनेका छन् ।
उनीहरूले आफूहरू निर्दोष भएकाले उद्दार गरिदिन दुतावास र एनआएनएसमक्ष याचना गरेका छन् । ‘हामी निर्दोष छौं । हामीलाई न्याय दिलाइदिनुस्,’ उनीहरुले पत्रमा भनेका छन् । पीडितहरूका अनुसार अहिले एक सय जना चिनियाँ नागरिक पनि आफूहरुसँगै जेलमा छन् ।
उनीहरू कसरी र को मार्फत् चिनियाँ नागरिकको सम्पर्कमा पुगे भन्नेबारे थप जानकारी खुल्न बाँकी छ। उनीहरूलाई यूएईको साइबर कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको आशंका छ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया