बालबालिकाका अधिकार संरक्षणमा स्थानीय तहको बेवास्ता

सुर्खेत । सरकारी निकायबाटै बालबालिकाका अधिकार संरक्षणमा बेवास्ता हुने गरेको पाइएको छ । प्रदेश तथा स्थानीय सरकारले बालबालिकासम्बन्धी ऐन तथा नियम कार्यान्वयनमा संवेदनशीलता नदेखाएका हुन् ।
बाल अधिकारसम्बन्धी ऐन २०७५ मा रहेको व्यवस्थाअनुसार स्थानीय र प्रदेश सरकारले आवश्यक नीति निर्माण र संरचनाको व्यवस्थापन गर्न सकेका छैनन् । उक्त ऐन कार्यान्वयनमा सरकारी संयन्त्रहरूले कमै चासो दिएका छन् । ऐनमा बालबालिकाको अधिकार संरक्षण तथा सम्बर्द्धनका लागि प्रत्येक स्थानीय तहमा गाउँकार्यपालिका र नगरकार्यपालिकाको उपाध्यक्ष तथा उपप्रमुखले तोकेको पालिका सदस्यको अध्यक्षतामा स्थानीय बालअधिकार समिति गठन गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै, बालअधिकार संरक्षण तथा प्रवद्र्धनसम्बन्धी कार्यविधि निर्माण गर्नुपर्ने, प्रत्येक स्थानीय तहमा बाल कल्याण अधिकारी नियुक्त गर्नुपर्ने, समाजसेवी तथा बाल मनोविज्ञ नियुक्त गर्नुपर्ने भनिएको छ । बालबालिकाको तत्काल उद्धार, राहत र पुनर्स्थापनाका साथै क्षतिपूर्तिका लागि बाल कोषको स्थापना गर्नुपर्नेजस्ता व्यवस्था ऐनले गरे पनि केहीबाहेक अधिकांशले त्यसको कार्यान्वयन गरेका छैनन् ।
राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार कर्णालीमा स्थानीय र प्रदेश सरकारले बालबालिकासम्बन्धी ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लगेको पाइँदैन । पहिलो पाँच वर्षे कार्यकाल सकिएर दोस्रो सुरु भइसक्दा पनि प्रदेशका धेरै स्थानीय तहले बालअधिकार समितिसमेत गठन गरेका छैनन् । प्रदेशका ७९ वटा स्थानीय तहमध्ये २१ वटाले मात्रै बाल अधिकार समिति गठन गरेको परिषद्ले जनाएको छ ।
कर्णालीमा बालबालिकाको अधिकार संरक्षणका लागि कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक पर्ने कार्यविधि पनि बनेका छैनन् । यहाँ हालसम्म ३५ वटा स्थानीय तहले मात्रै उक्त कार्यविधि निर्माण गरेका छन् । परिषद्का अनुसार ४४ वटा स्थानीय तहमा कार्यविधि बनाउनै बाँकी छ । बालबालिकाको आपत्कालीन उद्धार, राहत र पुस्र्थापना गर्नुका साथै क्षतिपूर्ति प्रदान गर्न बाल कोष स्थापना गर्नुपर्नेमा कर्णालीका १५ वटा स्थानीय तहले मात्र उक्त कोष खडा गरेका छन् ।
प्रदेशभरका ६४ पालिकामा बाल कोष स्थापना गरिएको छैन । सरकारी निकायमै कोष स्थापना नहुँदा आपत्कालीन उद्धार तथा राहतमा समस्या हुने गरेको बालअधिकार संरक्षका क्षेत्रमा कार्यरतहरूले बताएका छन् । राष्ट्रिय बालअधिकार परिषद्का समन्वय अधिकृत डम्बरबहादुर रोकायले बालबालिकासम्बन्धी ऐन कार्यान्वयनको अवस्था निकै नाजुक रहेको बताए । प्रदेशमा ४१ वटा स्थानीय तहले बाल कल्याण अधिकारी तोकेका छन् भने अझै ३८ पालिकामा सो कामसमेत भएको छैन । स्थानीय तह बालबालिकाका आवश्यक संरचना निर्माणमा संवेदनशील नबन्दा उनीहरूका सवाल ओझेलमा परेका छन् ।
ऐनमा बालबालिकाका सवाललाई सम्बोधन गर्ने थुप्रै विषयहरू समेटिए पनि यसको कार्यान्वयनमा जोड नदिँदा संघीयतापछि पनि बालबालिकाका समस्या ज्यूका त्युँ छन् । बालबालिकासम्बन्धी कानुन निर्माण र कार्यान्वयनमा प्रदेश तथा स्थानीय सरकारहरूले कम चासो देखाएको परिषद्का समन्वय अधिकृत रोकाय बताउँछन् । ‘कतिपय स्थानीय तहमा बनेका नीति तथा संरचनाहरूको पनि प्रभावकारी कार्यान्वयन भएको छैन,’ उनले भने, ‘सरकारहरूले भौतिक पूर्वाधार निर्माणमा मात्रै बजेट र कार्यक्रम केन्द्रित गरेको देखिन्छ ।’ बालबालिकाको सवाल अझै पनि सरकारको प्राथमिकतामा नपरेको उनको भनाइ छ ।
पाँच वर्षको अवधिमा प्रदेश सरकारले प्रदेश बालअधिकार समिति गठन गर्न नसकेको हो । सामाजिक विकास मन्त्रालयका सामाजिक सुरक्षा तथा महिला विकास महाशाखा प्रमुख अनिता ज्ञावली समिति गठनको कार्यविधि तयार गरेर अघि बढाइएको दाबी गर्छिन् । ‘महाशाखाले कार्यविधिको मस्यौदा तयार गरेको धेरै समय भइसक्यो’, उनले भनिन्, ‘मन्त्रिपरिषद् बैठकबाट पारित हुन बाँकी छ ।’
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया