मंगलबार, माघ १३, २०८२

सीमा नाका व्यवस्थापन गर्न गृहमन्त्री खाणको जोड

मेरोन्यूज २०७९ कार्तिक ५ गते १९:१६

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा, पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिविधि चलायमान गराउन नाका व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । उनले नाका सुव्यवस्थित गर्न सरकार लागि परेको जिकिर गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँच दलीय गठबन्धनको तर्फबाट रुपन्देही ३ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका मन्त्री खाँणले आज भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हवाई तथा स्थल नाका व्यवस्थित नहुँदा मुलुकको आन्तरिक सुरक्षा र छिमेकी मुलुुकहरु विरुद्ध नेपाली भूमिलाई प्रयोग गरेर हुन सक्ने गतिविधि रोक्न पनि नाका व्यवस्थित गर्नुपर्ने जरुरी रहेको औँल्याए ।

मन्त्री खाँणले नेपालको भूमि प्रयोग गरी दुई छिमेकी मुलुकविरुद्ध हुन सक्ने गतिविधि हुन नदिन सरकार प्रतिबद्ध रहेको र आगामी दिनमा यसतर्फ अझ चनाखो र गम्भीर ढङ्गले सरकार अगाडि बढ्ने विश्वास दिलाए । “मुलुकको आन्तरिक सुरक्षाको साथै छिमेकी मुलुुक विरुद्ध नेपालको भूमि प्रयोग गरेर कुनै प्रकारको गतिविधि रोक्न पनि नाका व्यवस्थित गर्नुपर्ने छ । यसतर्फ सरकार लागि परेको छ”, उनले भने, “निर्वाचन लगत्तै सबै सीमा नाका व्यवस्थित गर्ने काम सुरु हुन्छ ।”

स्थल नाका सुव्यवस्थित गर्ने कामको सुरुवात निर्वाचनपछि सरकारले रुपन्देहीको बेलहीया नाकाबाट गर्ने उनले प्रतिबद्धता जनाएका थिए । उनले नाका सुव्यवस्थित गराउन निर्माण गर्नुपर्ने संरचना र अन्य कामका लागि बजेटमा सरकारले कन्ज्युस्याई नगर्ने बताए ।

प्रतिक्रिया