बुधबार, माघ १४, २०८२

ग्वार्कोमा फ्लाइ ओभरको काम शुक्रबारदेखि सुरू गरिँदै

मेरोन्यूज २०७९ मंसिर २१ गते ११:००

काठमाडौं । नेपालको पहिलो ‘फ्लाइओभर’ (ओभर पास) को निर्माण आगामी शुक्रबारदेखि सुरू हुने भएको छ। ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ। सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले शुक्रबारदेखि फ्लाइओभर निर्माण सुरू गर्न लागेको बताए।

चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाइओभर निर्माण गरिने छ। जसअन्तर्गत ग्वार्को चोकमा पहिलो फ्लाइओभर निर्माण हुन लागेको छ। ६ मिटर उचाइ हुने फ्लाइओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ।

कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दाँयातर्फ र ११० मिटर बाँयातर्फ र्‍याम्प निर्माण गरिनेछ।

सुरूमा त्यहाँ ब्यारेकेडहरू राखेर काम सुरू गरिनेछ। खन्ने लगायतका काम गर्न भने अझै समय लाग्ने सडक विभागका अध्‍ययन तथा अनुसन्धान शाखाका सिडिई सौरभ बज्राचार्यले बताए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गरेर निर्माणको काम सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटो जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई सर्भिस लेनमा र साना चार पाङ्ग्रे सवारी साधनलाई फास्ट ट्र्याकबाट चलाउन भनेको छ।

प्रतिक्रिया