सोमबार, माघ १९, २०८२

‘अस्पताल सेवाग्राही मैत्री हुनुपर्छ’

मेरोन्यूज २०७९ मंसिर २७ गते ६:३०


बिराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले अस्पतालले बिरामीलाई सेवाग्राही मैत्रीरूपमा कार्य गर्नुपर्ने बताउनुभएको छ । विराटनगर–१४ मा नवनिर्मित हाजी आँखा अस्पताल प्रालिको आज उद्घाटन गर्दै उनले बिरामीलाई प्रदान गरिने सेवा गुणस्तरीय एवं सर्वसुलभ हुनुपर्ने धारणा राखे । उनले भने, “स्वास्थ्य नै धन हो भन्ने प्रचलन छ र त्यसमा पनि आँखा सबैभन्दा महत्त्वपूर्ण अङ्ग भएकाले यसको उचित हेरचाह गर्नुपर्छ ।”
निजी क्षेत्रले जनताको स्वास्थ्य क्षेत्रको आवश्यकता परिपूर्ति गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । प्रमुख खापुङले निजी क्षेत्रबाट स्थापित यस अस्पतालको सफलताबाट मुलुकको स्वास्थ्य र आर्थिकलगायत क्षेत्रमा ठूलो योगदान पुग्ने विचार राखे ।
प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले उपचारका लागि आउने भारतीय बिरामीले साथमा ल्याउने भारतीय रकमले मुलुकको व्यापार घाटामा केही सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
विराटनगर–१४ स्थित मलाया रोडमा नौ कठ्ठा जग्गामा रु १० करोडको लागतमा अस्पताल निर्माण गरिएको हो । अस्पतालमा दक्षिण कोरिया तथा इटालीबाट आयात गरिएको अत्याधुनिक उपकरणमार्फत आँखासम्बन्धी सम्पूर्ण उपचार गरिने व्यवस्था गरिएको छ । पचास श्ययाको उक्त अस्पतालमा दुई दक्ष चिकित्सक सहित ५० जनाले बिरामीलाई सेवा प्रदान गर्नेछन् । अस्पतालले आगामी तीन दिनसम्म वहिरङ्ग सेवा निःशुल्क गरेको जनाएको छ । रासस

प्रतिक्रिया