शनिबार, माघ १७, २०८२

प्रतिबन्धित भारतीय रूपैयाँसहित तीन जना पक्राउ

मेरोन्यूज २०७९ माघ २५ गते १३:२८

काठमाडौं । नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ २ लाख २० हजार सहित २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार दिउँसो भारतीय नागरिक ४३ वर्षीय बसारूद्दीन कामरूद्दीन अन्सारी र सुनसरी इनरुवा नगरपालिका–३ का २९ वर्षीय मधुकर सेठ साहलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले ५ सय दरको ४ सय ४० थान नोट बरामद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित क्यान्टिन नजिकै उनीहरूले भारतीय रूपैयाँ कारोबार गरिरहेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको ४ सय ५६ थान गरी जम्मा २ लाख २८ हजार सहित अमेरिकी नागरिक ६२ वर्षीय काल्साङ वाङचुकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट दिल्ली जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको हाते झोलाभित्र भारतीय रुपैयाँ फेला परेको हो ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

प्रतिक्रिया