सोमबार, चैत २३, २०८२

कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया सफल

मेरोन्यूज २०७९ फागुन ५ गते १९:२८

काठमाडौँ । एलपिजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको पहिलो शल्यक्रिया आज सफलतापूर्वक सम्पन्न भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ । मुख्य सर्जन डा. सुनिल केसवानीको भनाइअनुसार नेता भण्डारीको दायाँ खुट्टामा ‘डिप इन्जुरी’ रहेका कारण सोचेभन्दा धेरै समय शल्यक्रियामा लागेको, तर खुट्टा सामान्य रहेको उपचार समन्वयमा सँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए ।

दुवै खट्टाको शल्यक्रिया सम्पन्न भएको र दोस्रो शल्यक्रिया गर्ने वा नगर्ने ‘अब्जर्वेसन’पछि मात्र निर्णय हुने नेता कँडेलले जानकारी दिए । बुधबार राति आफ्नो निवासमा ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद डा. भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए ।

आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा बिहीबार बिहान निधन भएको हो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।

उनको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । नेता डा. भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो ।

प्रतिक्रिया