शनिबार, माघ १७, २०८२

जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

मेरोन्यूज २०७९ फागुन ८ गते १९:२३

काठमाडौँ । जिल्ला कारागार गुल्मीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सास्ती हुँदै आएको छ । जीर्ण भवनमा क्षमताभन्दा ५५ जना बढी कैदीबन्दी भएपछि उनीहरूको दैनिकी आलोपालो रुपमा गर्नु परेको छ ।

जिल्ला कारागार कार्यालय गुल्मीमा कैदीबन्दीको क्षमता मात्रै २५ जना हो । विसं २०२४ मा स्थापना भएको कारागारमा २० पुरुष र पाँच महिलाको क्षमता रहे पनि यहाँ अहिले तेब्बरभन्दा पाँचले बढी कैदीबन्दी छन् । कारागारमा हाल ८० जना कैदीबन्दी छन् । जसमध्ये ७३ पुरुष र सात महिला कैदीबन्दी रहेको कार्यालयका निमित्त प्रमुख रेश्मीराज पन्थी जानकारी दिए ।

जिल्ला कारागारमा अहिले कैदी ४५ र थुनुवा २८ पुरुष छन् । पाँच कैदी र दुई थुनुवा महिला छन् । जसमा जबरजस्ती करणी, कर्तव्य ज्यान, चोरी, ज्यान मार्ने उद्योग, सवारी ज्यान, बहुबिवाह, सवारी ज्यान र अङ्गभङ्गलगायत मुद्दाका कैदीबन्दी छन् ।

जीर्ण भवनमा दिनानुदिन कैदीबन्दी थपिँदा समस्या भएको निमित्त कार्यालय प्रमुख रेश्मीराज पन्थीले बताए । “कैदीबन्दी आलोपालो सुत्नुपर्ने, बस्ने, खाने र खानेपानीको पनि उत्तिकै समस्या छ”, पन्थीले भने, “हरेक हिसाबले समस्या छ, समाधानको लागि कुनै पहल भएन ।”

उनका अनुसार कारागारमा कैदीबन्दी रातको १२ बजेसम्म एक समूह र त्यसपछि अर्को समूह सुत्ने गरेका छन् । खाना खान, नुहाउन, बस्न, भेटघाट गर्न र कपडा धुनेलगायतका क्रियाकलापका साथै उपचार गर्न निकै सास्ती भइरहेको छ ।

कारागारमा लामो समयदेखि कार्यालय प्रमुख हुन् । अधिकृतको दरबन्दी भए पनि काजमा काठमाडौँ फिर्ता भएपछि नायबसुब्बाको भरमा कार्यालय चलिरहेको छ । एक जना स्वास्थ्यकर्मीको दरबन्दी कार्यालयमा छ । तर, कार्यालयले आजसम्म कुनै स्वास्थ्यकर्मी पाएको छैन । जसका कारण कैदीबन्दी सामान्य बिरामी हुँदा पनि गुल्मी अस्पतालमा पुर्याउनु पर्ने बाध्यता छ ।

१० जनाको दरबन्दी रहे पनि हाल कारागारमा सात जना कर्मचारी छन् । तिन जना कर्मचारी र चार जना कार्यालय सहयोगी छन् । कार्यालय प्रमुख, सिनियर अहेब (स्वास्थ्यकर्मी) र एक जना कर्मचारीको अभावका कारण पनि समस्या भएको निमित्त कार्यालय प्रमुख पन्थीले बताए ।

क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी र कर्मचारीको अभाव हुँदा पनि जिल्ला प्रशासन कार्यालय गुल्मीको ध्यान गएको छैन । कारागारको स्तरवृद्धि र कर्मचारी व्यवस्थापनमा चासो दिनुको सट्टा जिल्ला प्रशासनले कर्मचारी आफ्नो कार्यालयमा तानेको छ । कारागारमा रहेका एक जना खरिदार हाल जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत छन् । गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले कैदीबन्दीको आन्तारिक समस्यामा पहल गर्ने बताए ।

प्रतिक्रिया