आइतबार, माघ १८, २०८२

आरआर क्याम्पसका दुई समूहबीच खुकुरी हानाहान

मेरोन्यूज २०७९ फागुन २७ गते १४:५९

काठमाडौँ । भृकुटीमण्डपस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचनका लागि उम्मेदवारी दर्ता दिने क्रममा दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको छ ।

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

अनेरास्ववियुका इकाई अध्यक्ष लोकेश खड्काले आफ्ना तीन जना विद्यार्थी घाइते भएको जनाए । राज न्यौपाने, अनिल बोहरा र विवेक गैरे घाइते भएका छन् ।

झडपपछि क्याम्पस बाहिर ठूलो संख्यामा प्रहरी प्ररिचालन गरिएको छ । आक्रमणमा संलग्नलाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरीले जनाएको छ ।

क्याम्पस प्रशासनले विद्यार्थी संगठनको दबाब र प्रभावमा निर्वाचन निर्देशिका विपरीत विद्यार्थी भर्ना गरेको आरोप लगाएका छन् । मतदाता नामवली प्रकाशनअघि फर्जी विद्यार्थीको विषयमा छानबिन गर्न समिति बनेको थियो ।

शनिबार देशभरका क्याम्पसमा प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारी दर्ता गर्ने कार्य तालिका रहेको छ ।

प्रतिक्रिया