सोमबार, माघ १९, २०८२

सुपारी आयत खुलाउन ६० करोड रुपैयाँको चलखेल !

शेरबहादुर देउवा पत्नी आरजु र केही व्यापारीको मिलेमतोमा सुपारी आयात खुलाउन चलखेल

मेरोन्यूज २०७९ चैत २४ गते १४:२८

काठमाडौँ । मन्त्री र कर्मचारीहरूको सेटिङमा खुला गरिएको सुपारी आयतमा ठूलो परिणामको आर्थिक चलखेल गरिएको छ ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा र केही व्यापारीहरूको मिलेमतोमा सुपारी आयात खुलाउन ठूलो आर्थिक चलखेल भएको स्रोतको दाबी छ ।

आर्थिक चलखेलका कारण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीहरूले सुपारी, केराउ, छोगडाजस्ता वस्तु आयतको टिप्पणी उठाएर स्वीकृतिका लागि तत्कालिन प्रधानमन्त्री देउवालाई पठाएका थिए ।

‘विभागीय मन्त्री नभएको बेला सीधै प्रधानमन्त्री निवास र कार्यालयबाटै सुपारीको ‘लाइन’ खुलाउन दबाब आएको थियो, हामीले सोहीअनुसार स्वीकृतिका लागि टिप्पणी उठाएर पठाएका हौँ’, मन्त्रालयका एक उच्च अधिकारीले भने ।

स्रोतका अनुसार अघिल्लो सरकारले परिणात्मक बन्देज लगाएको सुपारी प्रदीप मित्तल र दिनेश राठीलगायतका केही व्यापारीलाई फाइदा पुग्ने गरी आयात अनुमति दिइएको हो ।

‘तत्कालिन समयमा प्रधानमन्त्री कार्यालय र निवासबाट दबाब आएपछि सुपारी आयात खुलाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाइयो, त्यहाँ रोकिने अवस्था थिएन पास भएर आयो’, स्रोतले भन्यो । यो योजना मंसिर ४ को निर्वाचनअघि भएको थियो ।

त्यतिबेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले नै सम्हालिरहेका थिए । तर, सुपारी आयात खुलाउने चाँजोपाँजो कांग्रेसका पूर्वसांसद तथा व्यवसायी अनिल रुङ्टा र प्रधानमन्त्रीकै गृहजिल्ला डडेलधुराका विवादस्पद पूर्वप्रशासक रामचन्द्र भट्टले गरेका थिए । हाल भट्ट विदेशमा छन् ।

नेपालकै ठूलो सुर्ती कम्पनी श्रीराम टोबाको कम्पनीका किशोर मालपानी, विजयकुमार मालपानी र उमाशंकर मालपानी दाजुभाइसँग डिल गरेर देउवा पत्नीलाई सो चाजोपाँजो मिलाएका हुन् ।

‘सुपारी तस्करीको लाइन खुलाउन कम्तीमा ५० देखि ६० करोड रूपैयाँको डिल भएको थियो’, स्रोतले भन्यो । यसको संयोजन पूर्वमा विराटनगरका व्यवसायी दिनेश राठीले गरेका थिए । मागभन्दा बढी परिणाममा तेस्रो मुलुकबाट सुपारी आयात गरेर ती व्यापारीले भारत तस्करी गर्छन् ।

यो पनि पढ्नुहोस् : शक्तिको आडमा सुपारी आयात खुला, यी हुन् भारतमा तस्करी चलाउने व्यापारी

नेपालको भन्सार दर सस्तो भएकाले तस्करहरूले नेपालमा चलखेल गरेर आयात खुलाउने र सुपारी ल्याएर भारततिर लैजाने गरेका छन् । सुपारी मुख्यतया इण्डोनेसिया, मलेसिया, थाइल्याण्डलगायतका तेस्रो मुलुकबाट नेपाल आयात हुन्छ । आयात भएको सुपारी भारत तस्करी हुने गरेकाले अघिल्लो केपी ओली सरकारले परिमाणात्मक बन्देज लगाएको थियो ।

व्यापारी दिनेश राठी, अनिल रुङगटालगायतका व्यवसायीको सुपारी आयात मुख्य धन्दा हो । भारतमा सुपारी आयात बन्देज छ । त्यसैले नेपालका केही व्यापारीले सरकारलाई प्रभावित पारेर आफूलाई फाइदा हुने गरी आयात खुलाउने र तेस्रो मुलुकबाट आयात गरेर अवैध बाटो हुँदै भारत लैजान्छन् ।

उनीहरूले सुपारी आयत गरी विदेश पठाउन थालेपछि नेपालको सुपारीको मूल्यमा गिरावट आउने गरेको छ । यसका साथै नेपालमा उत्पादन भएको सुपारी बिक्री हुन छाडेको छ । तर, व्यापारीहरूले आयत गरेको सुपारीलाई नेपालमै उत्पादन भएको भन्दै भारतमा तस्करी गर्ने गरेको स्रोतको दाबी छ । सुपारीको आयत खुलाउँदा २० देखि २५ रुपैयाँ प्रतिकिलो कमिशन छुट्याउने गरिएको स्रोतको दाबी छ ।

भन्सार विभाग मौन

भन्सार विभागले सुपारी आयतको मात्रै विवरण राख्ने गरेको छ । निर्यातको विवरण नभएको स्रोतले जनाएको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालमा आर्थिक वर्ष २०७७/०७८ मा एक अर्ब १६ लाख रुपैयाँ बराबारको ६ हजार ४१५ टन सुपारी आयात भएको छ ।

उक्त सुपारी आयात भएको विवरण देखिए पनि निर्यातको विवरण भन्सार विभागसँग छैन । थाइल्याण्ड, इण्डोनेसियाबाट आयात भएको सुपारी अवैध रूपमा भारत पठाउने गरिएको छ ।

भन्सारका कर्मचारीसँग मिलेर विदेशी सुपारीलाई नेपाली उत्पत्तिको प्रमाणपत्र दिने र भारत निकासी हुने गरेकाले त्यसको विवरण नराखिएको स्रोतको दाबी छ । तस्करीलाई रोक्न र निर्यातलाई व्यवस्थित गर्न सके नेपालमा सुपारी खेतीमा युवाको सहभागिता हुने सम्भावना भए पनि सरकार त्यसको बाधक बनेको छ ।

‘सरकार तस्करीमा संलग्न भएको अवस्था देखिन्छ कानुन र विधि पुर्‍याएर व्यापारीलाई आयत गर्न दिँदा यो अवस्था देखिएको हो’, एक उच्च अधिकारीले भने ।

प्रतिक्रिया