शुक्रबार, चैत १३, २०८२

अर्थमन्त्रीले मागे भन्सार नाकाबाट राजश्व कम हुँदै जानुको कारण

मेरोन्यूज २०७९ चैत २७ गते १२:४१

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सार विभाग प्रमुखहरुसँग भन्सार नाकाबाट क्रमशः राजश्व कम हुँदै जानुको कारण माग गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार काठमाडौंमा भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री डा. महतले प्रत्येक भन्सार नाकामा पछिल्लो समय हुने आयात निर्यातको प्रगति प्रतिवेदन मन्त्रालयलाई बुझाउन माग गरेका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारदेखि देशभरका भन्सार नाकामा राजश्वमा गिरावट आएको भन्दै राजश्व गिरावट आउनुको कारण दिन विभागलाई निर्देशन दिए ।

अर्थमन्त्री महतले कुन भन्सार नाकामा कस्ता प्रकृतिका वस्तु आयात निर्यात भइरहेका छन् सोको बारेमा वास्तविक तथ्याङ्क पनि माग गरे । उनले भन्सार नाकाहरुमा वस्तु आयात कम भइ वा चोरी पैठारीका कारण राजश्व संकलन कम भएको हो, सो को वास्तविक तथ्याङ्क विभाग प्रमुखले अर्थ मन्त्रालयलाई बुझाउन आग्रह गरे ।

अर्थमन्त्री महतले पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका भन्सारमा राजश्व चुहावट भएको भन्ने व्यापक खबर आइरहेको कुरालाई भन्सार विभागको नेतृत्वले गम्भिरताकासाथ लिन आग्रह गरेका छन् । उनले भन्सार प्रमुखहरुलाई कतव्र्यनिष्ट भएर नतिजामुलक काम देखाउन निर्देशन दिए ।

महतले भन्सारमा आयात निर्यात गर्ने उद्योगी व्यवसायीहरुलाई अनावश्यक दुःख नदिन भन्सार कर्मचारीहरुलाई आग्रह गरे । उनले अर्थ मन्त्रालयले पारदर्शी रुपमा काम गरेर नतिजा देखाउन चाहेको र मन्त्रालयको नतिजा देखाउने प्रमुख स्थान भन्सार विभाग भएको बताए । उनले अर्थतन्त्रमा नजितामुखी काम देखाउनको लागि सक्षम नेतृत्वको आवश्यक रहेको पनि बताए ।

अर्थमन्त्री महतले भन्सार नाकाबाट नै सामान बोकेका धेरै ट्रकहरु नेपाल भित्रिएको खबर बाहिर आएको भन्दै त्यसतर्फ भन्सार प्रमुखहरुको ध्यान जान आवश्वयक रहेको बताएका छन् । उनले भन्सार नाकाबाट नै विभिन्न सामानहरु चेकजाँच नगरी भित्रिएको खबरका विषयमा भन्सार सचिवको नेतृत्वले सत्यतथ्य जानकारी गराउन निर्देशन दिए ।

अर्थमन्त्री महतले भन्सारमा हुने चुहावट रोक्नको लागि राजश्व सचिव,भन्सार विभाग प्रमुखको सक्षम नेतृत्व चाहिएको बताएका छन् । उनले राजश्व सचिव र भन्सार विभागका विज्ञहरुले बजेट बनाउँदा उपयुक्त सुझाव दिन आग्रह गरे ।

प्रतिक्रिया