शुक्रबार, वैशाख ४, २०८३

सकम्बरी गीत : प्रश्नको घेरामा पात्र कि गायक !

उर्मिला शर्मा २०८० वैशाख ४ गते १५:५५

काठमाडौँ । केही दिनयता गायक प्रकाश सपुत चौतर्फी छाइरहेका छन् । शुक्रबार सार्वजनिक भएको उनको गीत ‘सकम्बरी’ युट्युब ट्रेण्डिङको पहिलो नम्बरमा छ । फरक शब्द शैलीमा प्रस्तुत हुन रुचाउने प्रकाशका सबै गीत चर्चामा आउने गर्छन् । उनको पछिल्लो गीत सकम्बरीको चर्चा चुलिँदै गएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

गीतको भिडियोमा ‘फूलमाया’ नाम गरेकी एक युवतीको कथा देखाइएको छ । जो पारिवारिक कलहबाट दिक्क भई सुनौलो भविष्यको सपना र परिवारको जिम्मा बोकेर सहर पस्छिन् । सहर पुगेकी उनलाइ गाउँकै एक युवकले बारमा काम लगाइदिन्छन् । बारमा काम गर्दा उनको धनाढ्य ग्राहकसँग भेट हुन थाल्छ ।

धनाढ्य ग्राहकहरूले उनलाई पैसाको लोभ देखाउन थाल्छन् । आर्थिक अवस्थाबाट ग्रसित फूलमायाले आफ्नो यौवन पैसासँग साट्ने निर्णयमा पुग्छिन् । केही दिनमै उनको जीवन शैली पूरै परिवर्तन हुन्छ । यसबीच उनी कयौँको सम्पर्कमा पुग्छिन् । म्युजिक भिडियो खेल्छिन् । सबैसँग सम्झौता गर्दै उनी फूलमायाबाट सकम्बरी बन्न पुग्छिन् ।

गीतका शब्दहरू मार्मिक छन् । तर, केही शब्द र भावले उनी चरम दोहनकारी पुँजीवादी पुरुषका रुपमा देखिन्छन् । महिलालाई उनले बजारको विकाउ सामानसँग तुलना गर्ने गरी निक्कै निच दृष्टिकोण प्रस्तुत गरेका छन् ।

पूरै गीतमा गायकले फूलमाया पात्रलाई प्रश्न गरेका छन् । कानको झुम्का कसले किनिदियो ? नाकको बुलाकी कसले किनिदियो ? पाउमा लाएको पाउजु, हातको चुरा कसले किनिदियो ? गीतमा आएका यस्ता प्रश्नले सीधै महिलाहरूको क्षमता अस्विकार गरेको देखिन्छ । महिला आफ्नो क्षमताले केही गर्न सक्दैनन् । कसैमा निर्भर हुन्छन् भन्ने सन्देश गीतमार्फत प्रकाशले दिन खोजेका देखिन्छन् ।

पुँजीवादी बजारमा महिलालाई विकाउ सामानका रूपमा प्रस्तुत गर्न खोजेर जसरी प्रकाश सपुतले आफ्नो गीतलाई बजारमा ल्याइरहेका छन् । उत्ति नै उनी सामाजिक चेतना स्तरमा निम्सरो र दोक्लाका रुपमा विवादित बन्न पुगिरहेका छन् । उनको गीतको अहिले चर्चा मात्रै छैन । उनको व्यक्तित्वमाथि आलोचनासमेत हुन थालेको छ ।

सामाजिक सञ्जालमा कयाैँले प्रकाश अहिलेसम्म पुरुषवादी समाजबाट माथि उठ्न नसकेको टिप्पणी गरेका छन् । खासगरी उनी जोडिएकै पेशाका अन्य कलाकर्मीहरू उनको यो प्रस्तुतीसँग सहमत हुन सकिरहेका छैनन् । उनीहरूले सपुतको प्रस्तुती निम्न पुँजीवादी सोच र संस्कारकै परिणतिका रुपमा आएको विश्लेषण गरेका छन् ।

गायिका बबिता बानियाँ (जेरी)ले गायक प्रकश सपुतले महिलामाथि गलत भाष्य निर्माण गर्न खोजेको भन्दै आलोचना गरेकी छन् । ‘राति हिँड्ने सबै महिला शरीर बेचेर फर्केका हुँदैनन्, डाक्टरर/नर्स अस्पतालको ड्युटी सकाएर, पत्रकार समाचार लेखेर/पढेर फर्केका हुन सक्छन्, नेता र मन्त्री रहेछन् भने बैठक सकेर आएका होलान्, अन्य धेरै त्यस्तो प्रोफेसन छ, जहाँ १०ः५ को ड्युटी खोजेर हुँदैन,’ जेरीले सपुतको गीतप्रति असहमति जनाउँदै भनेकी छन् ।

उनले सिनेमा र मोडलिङ क्षेत्रमा लागेका महिलाले अवसर पाउन र चर्चित हुन शरीर बेचेकै हुन्छन् वा बेच्नु नै पर्छ ? त्यो क्षेत्रमा कलाको कुनै मूल्य छैन । मेहनत र संघर्षको बाटो छैन ? यदि, होइन भने यो गलत भाष्य किन निर्माण गरियो ? भन्दै गायक प्रकाश सपुतसँग प्रश्न गरेकी छन् ।

सासंद उर्मिला माझीले गीतले महिलाहरू निरीह हुन्छन्, आफू केही गर्न सक्दैनन्, बाँच्नका लागि जे पनि गर्छन् भन्ने भाव दर्साउन खोजिएको भन्दै, यस्तो भावसँग सहमत हुन नसकिने बताइन् ।

उनले लेखेकी छन्, ‘कानमा लाउने झुम्कादेखि नाकमा लाउने फुलीसम्म अरुले स्वार्थ पूरा गरेबापत किनिदिन्छ र उनीहरू लगाउछन् भन्ने जस्ता शब्दहरूले महिला अधिकार, महिला स्वतन्त्रता र महिलाहरूको क्षमतामाथि प्रश्न उठाएको र सिंगो महिलाहरूलाई अपमान गरेको महसुस गरेँ ।’

गोविन्द लाफाली लेख्छन्, ‘प्रकाशका पछिल्ला गीतमा किन त्यस्ता शब्द र दृश्यहरु मात्रै प्रयोग भइरहेका छन् ? दुनियाँमा अरु कथा अरु बिम्ब नै सकिएका हुन् र ? पशुपतिमा बेवारिसे लास जलाउने सपना बहिनीको कथालाई बिम्बमा उतार्न सकिन्न ? त्रिशुलीमा बालुवा चालेर जिन्दगी गुजार्ने माइली दिदीको कथालाई भिडियोमा उतार्न सकिन्न ? दुर्गम गाउँका आमा, फुपु, दिदीहरुले घन्टौँको बाटो हिँडेर एक गाग्री पानी ल्याएको कथा बनाउन सकिन्न ?’

कपिल नाथ योगीले एक अबला नारीलाई बाध्यताको घुम्टो ओढाएर शरीर दिएर सफलता प्राप्त गरेको कथाले संघर्ष गरी सफल हुने महिलाहरूप्रति अन्याय गरेको बताएका छन् । उनले महिलाको वास्तविक संघर्षको सुन्दरतालाई बदनाम गरेको बताएका छन् । यस्तै कयौंले महिलाको अस्मितामाथि भद्दा मजाक बनाइएको भन्दै क्रोध पोखेका छन् ।

गीतको अन्त्यमा महिलालाई राजनीतिमा अफर आएको देखाइएको छ । यसले छोटो समयमा प्रगति गर्ने र कला क्षेत्रबाट रानीतिमातर्फ जाने महिलाहरूलाई शंका र प्रश्नले घेरिदिएको छ ।

के आर्थिक संकटबाट गुज्रिएपछि नारीहरु सधैँ यौन कर्ममा लाग्छन् ? के नारीहरु प्रकाशले बनाएको फूलमाया जस्तै छन् ? जस्ता प्रश्न यस गीतबाट उब्जिएका छन् ।

प्रकाशको आलोचना भएको यो पहिलो गीत भने होइन । उनको यसअघि आएको ‘पिर’ बोलको गीतले निकै आलोचना खपेको थियो । गीतमा एक पूर्व महिला छापामारले काठमाडौँमा गुजारा चलाउनका लागि लागि देह व्यापार गर्नु परेको दृश्य राखिएको थियो । त्यसबेला उनको चर्काे आलोचना भएको थियो । पछि उनले भिडियोमा दृश्य नै हटाउनु परेको थियो ।

प्रकाशको एकपछि अर्काे गीतमा महिलालाई देश व्यापार, यौन बजारको मात्र पात्र बनाउन जबरजस्त खोजिएको देखिन्छ । आफ्नो सिर्जना बिक्रीका लागि महिलाको यौनिकतालाई साहारा बनाउन खोजिरहँदा उनको चेतना स्तरमाथि प्रश्न उठाउन पाउने कि नपाउने ?

प्रतिक्रिया