शनिबार, चैत १४, २०८२

अर्थतन्त्रका समस्या सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्न आवश्यकः अर्थमन्त्री डा. महत

मेरोन्यूज २०८० वैशाख १३ गते १६:५२

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत वर्तमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्न आवश्यक रहेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बुधवार राष्ट्रिय सभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रश्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा कसरी समस्या देखियो र समाधानका उपायहरुको विषयमा अनुसन्धान गरी सबै पक्ष मिलेर सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्रलाई गतिदिनको लागि सत्ता पक्ष र विपक्ष मिलेर साझा दृष्टिकोण बनाएर अगाडि बढ्ने विषयमा सहमत रहेको बताएका छन् । उनले अर्थतन्त्र सुधारको लागि सबै मिलेर समाधान गर्ने विषयमा उच्च नेतृत्वतहमा छलफल भइरहेको बताए । उनले सदनमा सदस्यहरुले भनेको जस्तो अर्थतन्त्र कहाली लाग्दो अवस्थामा नभएको भन्दै सरकारले अर्थतन्त्र सुधार उन्मुख गराउनसक्ने अवस्थामा रहेको बताए ।

अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्या र चुनौति समाधान गर्ने ठोस प्रतिवद्धता सरकारसँग रहेको बताए । उनले अर्थतन्त्रमा समस्याहरुका चाङहरु रहेको स्वीकार गर्दै समस्या समाधान गर्न केही समय लाग्ने उल्लेख गरे ।

महतले अर्थतन्त्र सुधारको लागि सबैले धैर्यता गर्न आवश्यकता पर्ने बताएका छन् । उनले सिथिलतामा पुगेको अवस्थालाई चलायमान बनाउन आज बोलेर तत्काल चमत्कार हुने विषय नभएको जिकिर गरे।

अर्थमन्त्री महतले सरकार सम्पूर्ण रुपमा इमान्दारिताका साथ क्षमता र योग्यताले भ्याएसम्म आफू र पार्टी भन्दा माथि उठेर देश र जनतालार्इं केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया