शनिबार, चैत १४, २०८२

नेपाल प्रहरीका क्रिकेट खेलाडीहरू सम्मानित

मेरोन्यूज २०८० वैशाख २० गते १७:४९

काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी हालै सम्पन्न ‘एसीसी प्रिमियर कप २०२३’ लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका नेपाल प्रहरीका ६ जना क्रिकेट खेलाडीलाई सम्मान गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रमबीच उनीहरूलाई प्रशंसा पत्र तथा नगद पुरस्कारद्वारा सम्मान गरेका हुन् ।

सम्मानित हुने खेलाडीहरूमा प्रहरी कर्मचारीहरू नेपाल पुलिस क्रिकेट टिमका क्याप्टेन दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी एवं नेपाल प्रहरीमा आवद्ध करण केसी र गुल्सन झा रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी संगठन र राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी भई हालै सम्पन्न भएको एसीसी प्रिमियर कप २०२३ मा उत्कृष्ट प्रदर्शन गरी विजयी हासिल गरेकोमा बधाई दिए ।

राष्ट्र एवम् संगठनको छवि अझ उच्च गर्नमा आगामी दिनमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शनको लागि उनले शुभकामनासमेत दिए । एसीसी प्रिमियर कप २०२३ मा नेपाल प्रहरीका खेलाडीको उत्कृष्ट प्रदर्शन तथा राष्ट्रिय सम्मान अभिवृद्धिमा गरेको योगदानको नेपाल सरकारले पनि उच्च मूल्यांकन गरेको उनले बताए ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका खेलाडीहरूको मनोबल उच्च गराउन, क्षमता अभिवृद्धि गर्न र वृत्ति विकासका लागि संगठन सदैव क्रियाशील रहेको उल्लेख गरे ।

कार्यक्रममा सम्मानित खेलाडीहरूकोतर्फबाट मन्तव्य व्यक्त गर्दै कुशल भुर्तेलले नेपाल प्रहरी संगठनको प्रतिनिधित्व गरी सफलता प्राप्त गरेकोमा धेरै गौरव महसुस गरेको बताए । साथै आउँदा दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जाने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरूलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया