मंगलबार, माघ २०, २०८२

नक्कली भुटानी शरणाथी प्रकरण

ओलीका स्वकीयसचिव बज्राचार्य, अख्तियार प्रमुख राई र आईजीपी कुवँर मुछिए

मेरोन्यूज २०८० जेठ १० गते १३:२१

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप उच्च पदस्थ अधिकारीहरू मुछिने सम्भावना देखिएको छ ।

जिल्ला सहकारी वकिल कार्यालय काठमाडौँले आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरिरहँदा तत्कालिन प्रधानमन्त्री तथा एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकिय सचिव राजेश बज्रचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई र नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर मुछिने तथ्यहरू बाहिरिएका हुन् ।

यस प्रकरणमा परेका विचौलियाले थप उच्च पदस्थ अधिकारीहरूलाई बयानका क्रममा पोलेका हुन् । पक्राउ परेका १६ मध्ये केहि आरोपाीले बयानका क्रममा अन्य उच्चपदस्थ अधिकारीलाई पनि पोलेका हुन् ।

गिरोहका नाइके सानु भण्डारी र केशव दुलालले सरकारी तहबाट काम गराउन सिंहदरबारदेखि मन्त्री क्वार्टर र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेर पैसा बुझाएको दाबी गरेको बयान दिएका हुन् ।

आरोपी भण्डारीले तत्कालीन गृहसचिव राईलाई रकम बुझाएको बयान दिएका छन् । त्यस्तै रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले प्रेमकुमारको गाडीमा एक करोड रुपैयाँ राख्न लगाएको भण्डारीले खुलाएका छन् । प्रेमकुमारले ३ करोड लिएको बयान दिएको प्रहरीले स्रोतले बतायो ।

तत्कालीन प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले भने उर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत प्रधानमन्त्री क्वार्टर बालुवाटारमा बोलाएर एक करोड रुपैयाँ लिएको बयान आरोपीहरुले दिएका छन् ।

प्रकरणमा प्रहरीले पूर्वमन्त्री रायमाझी र पूर्व सुरक्षा सल्लाहकार राईलाई पक्राउ गरे पनि सानु र केशवले पोलेका एमाले अध्यक्ष ओलीका प्रमुख स्वकीय सचिव बज्राचार्य, अख्तियारका प्रमुख आयुक्त रहेका राई, डा. अजयक्रान्ति शाक्य, राजेश्वर स्थापितलगायतसँग सामान्य सोधपुछ पनि गरेको छैन ।

यो प्रकरणमा सर्वाधिक नाम आइरहेका आरजु राणा देउवा र मञ्जु खाणलाई सार्वजनिक भएको एक अडियोमा नाम मुछिएको थियो ।

उनीहरुलाई पनि रकम दिएको भन्दै आरोपी सन्देश शर्माले पीडित गजेन्द्र बुढाथोकीलाई बताएको अडियो सार्वजनिक भएको थियो । सानु भण्डारी र केशव दुलालले उच्चपदस्थहरुलाई रकम बुझाएको बयान दिएको प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

यता नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको भूमिका पनि शंकास्पद देखिएको विववरणहरु सार्वजनिक भइरहेका छन् । गिरोहका सदस्य केशव दुलाल र सानु भण्डारीसँग कुँवरको सम्पर्क र भेटघाट भएको अनुसन्धानका क्रममा भेटिएको हो ।

प्रहरीले अनुसन्धानका क्रममा दुलालको मोबाइलबाट तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग भएको भाइबर च्याटको विवरण फेला पारेको छ, जसमा पाण्डेले कुँवरसँग गिरोहलाई जोडिदिएका छन् ।

एसएसपीका रुपमा कुँवर अपराध अनुसन्धान कार्यालयको प्रमुख छँदा १८ जेठ २०७९ मा यो प्रकरणबारे पहिलो पटक उजुरी परेको थियो।

गृह मन्त्रालयका उच्च अधिकारीहरुसँग सम्पर्क रहेको व्यहोरासहित जाहेरी परेपछि प्रहरीले अनुसन्धानका लागि ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङलाई नियन्त्रणमा लिएको थियो।

त्यही दिन जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर पक्राउ गरिएका उनीहरुलाई तत्कालीन कार्यालय प्रमुख कुँवरले केही घण्टामै गृह मन्त्रालयको दबाबमा छाडेको पनि खुलेको छ । टोपबहादुर रायामाझीलाई त उनले बुटवलबाट भगाउन नै भूमिका खेलेको आरोप लागेको थियो ।

प्रहरी हिरासतमा रहेका १६ जनासहित ३३ जनालाई प्रतिवादी बनाइएको छ भने २७ करोड ८४ लाखबढी विगो दाबी गरिएको छ ।

पक्राउ पर्नेहरुमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका निलम्बित सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव ९निलम्वित सचिव० टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी रहेका छन् ।

प्रतिक्रिया