मंगलबार, फागुन १९, २०८२

प्रमाणिकरण गरिएको नागरिकता विधेयकलाई निष्क्रिय बनाइयोस् : एमाले

मेरोन्यूज २०८० जेठ २१ गते १३:४१

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता विधेयक निष्क्रिय राखि संसदमा सो सम्बन्धि नयाँ विधेयक सरकारले पेश नगरेसम्म सदन चल्ने नदिने बताएका छन् । आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक गिरीले असंवैधानिक ढंगले राष्ट्रपतिले सो विधेयक प्रमाणिकरण गरेकाले आफूहरुले त्यसलाई स्विकार गरेर अघि बढन सक्ने अवस्था नरहेको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

उनले विदेशी प्रभुहरुलाई रिझाउनका लागि विधेयकहरु प्रमाणिकरण गर्ने काम गरिएको भन्दै आपत्ति समेत जनाए । प्रमुख सचेतक गिरीले भने, ‘यहाँनिर अहिले जुन निष्क्रिय विधेयक छ । सो निष्क्रिय विधेयकलाई सम्माननीय राष्ट्रपतिज्यूले यसरी असंवैधानिक ढंगले अव प्रमाणिकरण गर्दै जाने हो भने भोली बिहान २०५७ सालमा तत्कालीन राजा विरेन्द्रले लालमोहर नलगाएको जुन नागरिकता विधेयक थियो । भोली बिहान विदेशी प्रभुहरुलाई रिझाउनका लागि सम्माननीय राष्ट्रपतिज्यूले त्यो पुरानो फाईल पनि खोजेर त्यसमा प्रमाणीकरण गर्नु भयो भने मान्ने कि नमान्ने सभामुख महोदय । यो गम्भिर प्रश्न पनि हाम्रो अगाडि आईसकेको छ । त्यसकारण म भन्न चाहन्छु–अहिले यो जुन विधेयक छ । यो प्रमाणिकरण गरिएको भनिएको विधेयक छ । यो विधेयकलाई निष्क्रिय राखियोस् । र, नयाँ संशोधन प्रस्ताव संसदमा दर्ता गरियोस् । र, एक हप्ता भित्र घनिभूत छलफल गरेर नयाँ नागरिकता प्राप्त नगरेका ती नेपालीजनहरुलाई नागरिकता दिने प्रबन्ध मिलाईयोस् । अन्यथा हामीले यो कुरालाई स्विकार गर्न सक्ने अवस्था रहँदैन सभामुख महोदय ।’

प्रमुख सचेतक गिरीले नागरिकता विधेयकलाई संसदबाट एक हप्ता भित्र छलफल गरी पारित गरेर नागरिकताविहीन नेपालीहरुलाई नागरिकता दिन आफ्नो पार्टी लागिपर्ने समेत बताए । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेपछि प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया