लोकगीतमा डुबेकी अमृता श्रीपालको सांगितिक जीवन

चलचित्रकी नायिका भन्दा कम छैनन् गायिका अमृता श्रीपाल । सुरिलो आवाजले लठठ् बनाउने कला छ, उनको स्वरमा । तर, उनी चर्चामा आउन त्यति खोज्दिनन् । कुनै चलचित्रमा अभिनय गर्ने मौका पाएको भए सायद उनी नायिकाका रुपमा लोकप्रियता कमाईसकेकी हुन्थिन् ।
म्याग्दी बेनी नगरपालिका ३ भकिम्लीकि अमृता श्रीपाललाई स्कुल पढ्ने बेला देखी नै गायिका बन्ने रहर थियो । उनी स्कुल, कलेज स्तरीय कार्यक्रममा नछुटाई भाग लिन्थिन् । बेनीबजारमा महिला समूहले आयोजना गरेका कार्यक्रममा त सबैलाई उछिनेर पहिलो नै बन्थिन् । राम्रो गाउँने उनी सांगितिक दुनियाँमा भिज्न चाहन्थिन् । अमृताका दाई बिनोद मीठो गीत गाउथे । यसले गर्दा उनलाई झनै सजिलो भईदियो ।
अमृता बिगत ७ वर्ष अगाडी राजधानी काठमाडौँ प्रवेश गरिन् । म्याग्दीको जयन्ती माविबाट ०६९ मा एसएलसी दिएकी उनले प्लस टु म्याग्दी क्याम्पस, बेनीबाट पूरा गरिन् । ०७३ मा संगीत पढ्ने रहरले उनलाई काठमाडौँ डोर्यायो । त्यो बेला उनी साथीसँग डेरा लिएर बस्थिन् । यो शहरका लागि उनी आफू पनि नयाँ थिईन् । कसैले उनलाई भन्यो, ‘लोक दोहोरी गाउनेले संगीत सिकिरहनु पर्दैन । आधुनिक गायनमा लाग्नेले मात्र हो संगीत सिक्ने ।’ उनले त्यसैलाई पत्याईन् ।

ठमेलको लेखनाथमार्गस्थित सरस्वती क्याम्पसमा अर्थशास्त्र विषय लिएर स्नातकमा भर्ना भएकी अमृतालाई कतै जागिर गर्नु पर्ने बाध्यता थियो । नयाँ बसपार्कको दोहोरीमा काम गर्दै यता अध्ययनलाई निरन्तरता दिईन् । साँझ ६ देखी राती १२ बजेसम्म दोहोरीमा उनको ड्युटी हुन्थ्यो । रातभर दोहोरीमा काम, दिउसो कलेज जानु पर्ने । उनलाई पढ्न गार्हो भयो । नचाहँदा नचाहँदै उनले दोस्रो वर्षमै पढाईमा पूर्णविराम लगाउनु पर्यो । उनको पढाई एकातिर, रहर अर्कैतिर भईदियो । तालमेल नै मिलेन ।
अमृता गीत संगीतको नशामा चुर्लुम्म डुबिसकेकी थिईन् । संगीत भनेपछि बेग्लै उर्जा मिल्थ्यो । उनलाई हार्मोनियम बजाईराख्न मन लाग्थ्यो, गीत गुन्गुनाईरहन मन लाग्थ्यो । खाना बनाउँदा होस् कि लुगा धुँदा, कोठामा बस्दा पनि उनलाई हरबखत गीत गुन्गुनाईरहन मन लाग्थ्यो । ‘घर जाँदा बाले गाली गर्नुहुन्थ्यो । म जतिबेलै पनि गीत गुन्गुनाईरहन्थें ।’ उनले भनिन्, ‘कति गीत गाएको भनेर कराउनु हुन्थ्यो ।’ खासमा उनका बुबा अमृतालाई ‘लाहुरे बन’ भन्नु हुन्थ्यो । आफू पनि इन्डियन आर्मी भएर होला छोरीलाई पनि त्यतै भविष्य देख्नु हुन्थ्यो । उनकी दिदी भने ‘स्टाफ नर्स पढ’ भन्नु हुन्थ्यो । कलेज पढ्दा बिभा ढुंगाना भन्ने साथी गीत, संगीतमै लाग्नुपर्छ भन्थिन् ।
अमृतालाई गायिका बनेकोमा पछुतो छैन । उनले आफै कमाएर जीवन चलाईन् । गीत संगीतमा लागेर कसैलाई पैसा माग्नु परेन ।
अमृताको पहिलो कमाई
नयाँ बसपार्कको नेपाली दोहोरी साँझमा काम गर्दा उनको तलब साढे ६ हजार रूपैँया थियो । यो नै उनको जीवनको पहिलो कमाई थियो । त्यो दोहोरीमा एक महिना मात्र गरेकी अमृतालाई गोंगबुको म्याग्दी दोहोरीले एकै पटक १० हजार रूपैँया दिएर बोलायो । त्यसमा भने उनले ७ महिना दोहोरी घन्काईन् । त्यसपछि बसपार्ककै चाँदनी दोहोरीमा एक वर्ष काम गरिन । त्यहि दोहोरीमा काम गर्दागर्दै उनले कतार जाने अवसर पाइन् । म्याग्दी समाज कतारको निमन्त्रणामा दोस्रो चोटी कतार पुगिन् ।

अमृता पहिलो चोटी हिमालयन इन्टरनेश्नल अवार्ड थाप्न कतार पुगिन् । म्याग्दी प्रवासी समाज, कतारको निम्तोमा उनी पहिलो पटक कतार पुगिन् । अहिलेसम्म दुई पटक उनले कतार जाने मौका पाईन् । त्यही दोहोरीमा काम गर्दा उनले छाया छवी तीज अवार्ड र म्युजिक खबर म्युजिक अवार्ड पनि पाईन् । विदेशमा जता पनि नेपालीहरु भेटिएर उनलाई कुनै नौलो भने लागेन ।
सन् २०१९ मा गैरे समाज, जापानको आयोजनामा अमृता जापानमा उडिन् । तीज कार्यक्रममा गएकी उनी १५ दिन जापान बसिन् । सन् २०२२ को तीजमा पनि जापान पुग्दा बिभिन्न सांगितिक कार्यक्रमहरूमा भाग लिईन् । धेरै देश घुम्न पायो भने त्यहाँ नेपाली गीत संगीत प्रस्तुत गर्थें भन्ने उनलाई लाग्छ । विदेशमा धेरै दुःख छ । संघर्ष छ । गर्न सके नेपालमै राम्रो सम्भाबना छ भन्ने लाग्छ । नेपालमा झापादेखी पश्चिम प्युठानसम्म सांगितिक कार्यक्रमका सिलसिलामा पुगिन् ।
लोकगीतमा मन बसेकी अमृता
अमृतालाई लोकगीत एकदमै मन पर्छ । उनले गाउने पनि, सुन्ने पनि लोकगीत नै हो । लोकगीत, सालैजो, यानीमाया, सोरठी, पञ्चैबाजाका लागि म्याग्दी प्रख्यात छ । तर, पहिला जस्तो भने छैन । उनलाई सालैजो गाउन, शीरफूल पनि खुबै मन पर्छ ।
अमृताले पहिलो गीत आफ्नै दाईसँग रेकर्ड गराईन् ।

उनले गाएको ‘दसैं, तिहार मनाउन’ बोलेको गीत पहिलो रेकर्डेड गीत हो । यो २०७३ मा रेकर्ड भयो । त्यसबाट राम्रो प्रतिक्रिया पाएपछि अरु गीत पनि रेकर्ड गरिन् । हालसम्म आफ्नो अरुमा गरेर दुई दर्जन गीतहरु रेकर्ड भईसकेका छन् । सबैभन्दा चलेको ‘खैनीले’ भन्ने गीत हो । त्यस पछाडी चिलगाडी, मदानी भन्ने गीत बढी लोकप्रिय बने । सुरुसुरुमा नयाँ कलाकार भनेर कमै पारिश्रमिक दिन्थे । आउने जाने भाडा पुग्दैनथ्यो । पछि बुझेर जान थालें । अहिले पारिश्रमिक चित्त बुझ्दो नै छ ।
अमृताका रहरहरू
अमृता शान्त, एकान्तमा बस्न मन पराउँछिन् । सुनसान वातावरणमा एक्लै बस्न रुचाउछिन् । उनलाई ग्रामिण परिवेश, डाँडापाखा, हिमाली क्षेत्र घुम्न विशेष मन पर्छ । जापान गएर माउन्ट फुजी घुमिन् । त्यो यात्रा उनका लागि अविस्मरणिय छ । कतारमा समुन्द्री किनार र डेजर्ट सफारी गरेको भुल्न सक्दिनन् । नेपालमा मुस्ताङ, मनाङ पुग्न मन छ । दार्जिलिङ, सिक्कीम पनि घुम्न एकदमै रहर छ ।
फुर्सदको समयमा
अमृता फुर्सद मिल्दा रेस्टुराँ जान रुचाउँछिन् । कोरियन फुड्को स्वाद उनको जिब्रोमा झुन्डिएको छ । आफू भने नेपाली परिकारहरु मीठो बनाउँछिन् । घरको काम गर्न उनको सोख छ । साउथ इन्डियन मुभी हेर्न र गीतहरु सुन्न हुरुक्कै हुन्छिन् ।
‘अनि विहेको सोच छैन ?’
अहिलेसम्म सिंगल रहेकी अमृतालाई सोधियो । ‘अहिले नै त छैन । म आफ्नो करिअरमा फोकस छु ।’ उनले भनिन्, ‘विहे भन्ने कुरा माथिबाटै लेखेर आएको हुन्छ भन्छन् । लगन जुरेपछि हुन्छ होला नि ।’

उनलाई लभ लेटर स्कुल पढ्ने बेला नै आएछ । कक्षा ७ पढ्ने बेला एक जना केटाले हात काटेर रगतले पानको पात बनाएर ‘आइ लभ यु अमृता’ भनेर आएको उनले भुलेकी छैनन् । आफू भन्दा एक कक्षा तलको क्लासको केटाले लेखेको थियो । ‘भाइ नै भनौं न ।’ त्यो पल सम्झिइन्, ‘त्यो चिठी च्यातेर उसकै अगाडी फालिदिएँ । गजल, कविता पनि लेखेको थियो । बिचरा रोयो ।’ यो सुनाईरहँदा उनी हाँसिरहेकी थिईन् ।
‘भविष्यको योजना के छ ?’
गीत संगीतमा लाग्ने, राम्रा गीतहरु ल्याउने उनको सोच छ । जीन्दगी यसैमा समर्पित गर्ने उनको विचार छ । दोस्रो कुनै पेशाबारे उनले सोचेको छैन । हाल राजधानीको एक दोहोरीमा बिगत ७ वर्षदेखी निरन्तर दोहोरी घन्काईरहेकी उनी संघर्षरत छिन् । आफूलाई राजधानी बस्न पुग्ने कमाई भईरहेको उनले सुनाईन् ।

















शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
काभ्रेपलाञ्चोकमा वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी
US Assistant Secretary Kapur pays courtesy call on Foreign Minister Khanal
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनलाई पार्टीको पुनः समर्थन
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया