नक्कली भुटानी शरणार्थी प्रकरण
प्रहरीले सुरु गर्यो दोस्रो चरणको अनुसन्धान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा दोस्रो चरणको अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए ।
पहिलो चरणको अनुसन्धान सकिएर मुद्दा दर्ता भइ अभियुक्तमध्ये केही व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएपछि दोस्रो चरणको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले शरणार्थी प्रकरणमा पहिलो चरणको अनुसन्धान प्रतिवेदन बुझाएपछि दोस्रो चरणको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो। त्यही निर्देशन अनुरुप प्रकरीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको हो ।
दोस्रो चरणमा पक्राउ परेका अभियुक्तहरुले बयानका क्रममा नाम पोलेका व्यक्तिहरु र अनुसन्धानमा देखिएका विभिन्न प्रमाणहरुका आधारमा अनुसन्धान अघि बढाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले पनि अनुसन्धान प्रक्रिया अघि बढाएको छ। परिसारले प्रमाण जुटे पनि वतन नखुलेको भन्दै ३ जनाविरुद्ध परिसर प्रहरीले मुद्दा चलाएको थिएन। तिनै ३ जना व्यक्तिलाई केन्द्रमा राखेर अहिले अनुसन्धान प्रक्रिया अघि बढाइएको परिसर जनाएको छ ।
अभियुक्तले नाम लिएका व्यक्तिहरुलाई केन्द्रमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।
अनुसन्धानको क्रममा अभियुक्तहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा पूर्वगृहसचिव प्रेमकुमार राईको नाम लिएका थिए। राईको गाडीकै डिक्कीमा रकम राखिदिएको अभियुक्तहरुको बयान थियो।
एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्व प्रदेश सांसदसमेत रहेका एमालेकै नेता डा अजयक्रान्ति शाक्य, पूर्वगृहसचिव महेश्वर न्यौपानेको पनि नाम पोलेका छन्। हाल पुर्पक्षमा रहेका पूर्व उपप्रधानमन्त्री समेत भइसकेका एमाले नेता टोपबहादुर रायमाझीका सहयोगी लीला जिसी र एमालेकै नेता राजेश्वर स्थापित र अर्का विचौलिया बेचन झाको नाम अभियुक्तहरुले पोलेका छन्।
अभियुक्तहरुले नाम लिएका र अन्य जोडिनसक्ने पात्रहरुलाई केन्द्रमा राखेर अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले अबको अनुसन्धानको मुख्य केन्द्रमा भारतीय नागरिक बेचन झा रहेको बताएको छ । प्रहरीले झाको खोजी तीव्र पारेको छ। पहिलो चरणको अनुसन्धानको अन्त्यतिर बेचन झाको नाम यो प्रकरणमा जोडिएको पाइएको थियो। तर प्रहरीले उनको वतनको पूरा विवरण नखुलेको भन्दै खुलेका बखत पुनः अनुसन्धान गर्नेगरी प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री बादलको पालामा २०७६ जेठ ३० मा एउटा कार्यदल गठन गरिएको थियो। गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्व गठित कार्यदलमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए।
विचौलियाहरुकै सेटिङमा कार्यदलमा मान्छेहरु राखेर बादलकै पालामा ठगी प्रकरण सुरु भएको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ। पछि खाणको पालामा पन्थी कार्यदलको प्रतिवेदनमा अनसूची नै थपेर नक्कली नाम राख्दै ठगी भएको प्रहरीको निष्कर्ष छ।
यो प्रकरणमा पक्राउ परेका १८ जनामध्ये हाइप्रोफाइलसहित १६ जना मुद्दाको पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवलमा छन्। बाँकी २ जना लक्ष्मी महर्जन र टंक गुरुङलाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
















गृहमन्त्री अर्यालसँग युएनओडिसी क्षेत्रीय प्रतिनिधिको शिष्टाचार भेट
प्रधानमन्त्री कार्की र श्रीलंकाकी नवनियुक्त राजदूत डेल्पिटियाबीच शिष्टाचार भेट
स्वास्थ्य बिमामा देखिएका समस्या समाधान हुन्छ : प्रधानमन्त्री कार्की
काठमाडौँको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं
SAFF U-19 Women’s Championship: India defeats Bhutan by 8-0
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
प्रतिक्रिया