बिहीबार, माघ २२, २०८२

‘पक्राउ पूर्जी’ जारी भएका बस्न्यातलाई अगाडिबाटै तारेख बुझ्न जाँदा देखेन प्रहरीले

मेरोन्यूज २०८० असार २७ गते ११:१८

काठमाडौँ । ललिता निवासको जग्गा प्रकरणमा अत्यिार दुरुपयोग अनुसन्धान आयोग आयोगका पूर्वप्रमुख दीप बस्न्यातसहित ४०६ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले पक्राउ पूजी जारी गरेको छ । ती मध्य प्रहरीले अहिलेसम्म १८ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

बस्न्यातले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पिएसओ पनि फिर्ता गरेर लुकेका छन् । प्रहरीले उनलाई खोजी गरिरहेको बताउँछ ।

तर बस्न्यात मंगलबार प्रहरीकै अगाडिबाट बबरमहलस्थित विशेष अदालतबाट तारेख बुझ्दा पनि प्रहरीले पक्राउ गरेन ।

सरकारी छाप किर्ते गरी ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना गरेको अभियोगमा प्रहरीले बस्न्यातविरुद्ध पनि अदालतबाट पक्राउ पूर्जी लिएको छ ।

यसै मुद्दामा अख्तियारले पनि अनुसन्धान गरी १७५ प्रतिवादीविरुद्ध दुई वर्षअघि नै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । जुन मुद्दा हाल अदालतमा विचाराधीन छ । सोही मुद्दामा संलग्नमध्येका ८१ प्रतिवादीविरुद्ध मंगलबार अदालतमा तारेख तोकिएकोमा ६८ प्रतिवादीले तारेख बुझेका छन् ।

आठ प्रतिवादीले कानुन व्यवसायीमार्फत तारेख बुझे पनि बाँकी ६० प्रतिवादी सशरीर उपस्थित भएर तारेख बुझे । त्यसमा बस्न्यात पनि थिए र उनी आफै गएर तारेख लिएको अदाललतमा उनले गरेको हस्ताक्षरबाट देखिन्छ । तर अदालतको गेटमा र तारेख बुझ्ने स्थानको बाहिरसम्म बसेका प्रहरीले उनलाई पक्राउ गरेनन् ।

विशेष अदालतका प्रवक्ता नारायणप्रसाद भट्टराईले ललितानिवास भ्रष्टाचार मुद्दाका अधिकांश प्रतिवादीले मंगलबार तारेख बुझेको जानकारी दिए ।

स्रोतका अनुसार बस्न्यातसहित विजयकुमार गच्छदार, जीतबहादुर थापा, अंगुर सिग्देल, शंकर सुवेदीसहितले आफै पुगेर तारेख बुझेका थिए ।

प्रतिक्रिया