भानुभक्तका पनाति भन्छन् : चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन

तनहुँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घाबारे नसुन्ने सायदै कोही होलान् । तर त्यहाँ पुग्ने नेपाली र विदेशी पर्यटक भने नगण्य देखिएका छन् ।
आदिकविको लोकप्रियता र भाषिक एकताको श्रीगणेशको श्रेयका दृष्टिले चुँदीरम्घामा पर्यटकीय गतिविधि बढ्नुपर्नेमा त्यस्तो हुन नसकेको सन्दर्भ क्रमशः उठ्न थालेको छ । पर्यटकीय पूर्वाधारका रूपमा भानुका साहित्यिक सङ्ग्रहालय, पक्की सडक, होटल, घरबासलगायतको प्रबन्ध नहुनुले पनि यस्तो भएको हुनसक्छ ।
भानुसँग जोडिएको घाँसीकुवा पृथ्वीराजमार्गमा बनाइएको छ । चुँदीरम्घामा हेर्नैपर्ने भानुसँग जोडिएका विशेष स्मृतिस्थल निर्माण गरिएका छैनन् ।
नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको मातहत हुने गरी सञ्चालनमा ल्याएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानुका हरेक जन्मजयन्तीमा विविध साहित्यिक र प्रतियोगितात्मक कार्यक्रम भने गर्दै आएको छ । यस्ता कार्यक्रममा काठमाडौँ र विभिन्न जिल्लाबाट आमन्त्रण गरिएका केही कवि पुग्छन् ।
सीमित स्थानीयवासी र आसपासका विद्यालयका शिक्षक–विद्यार्थी कार्यक्रममा सहभागी हुन्छन् । त्यसपछि एक वर्षसम्म चुँदीरम्घाको साहित्यिक वातावरण सुनसान रहन्छ ।
भानुभक्तका ८२ वर्षीय पनाति हरिनाथ शर्मा आचार्यको मनमा पनि यो कुरा गढेको रहेछ । सरकारले पर्याप्त ध्यान दिन नसकेका कारण भानुको जन्मस्थल ओझेलमा परेको उनको गुनासो छ । आचार्य आफू केही समयअघि भारतको सिक्किम जाँदा त्यहाँ भानुको भव्य जन्मजयन्ती मनाइएको देखेर दङ्ग परे । भानुभक्तका छोरा रामनाथ थिए । उनका छोरा देवीभक्तका छोरा हरिनाथ आचार्य गाउँमै सामान्य किसानी गरेर दिन बिताउँछन् । रामनाथका दुई श्रीमतीमध्ये अर्की श्रीमतीपट्टिका एक नाति हरिनाथभन्दा जेठा पनि जीवितै छन् ।
भानुभक्तको २१०औँ जन्मजयन्तीका अवसरमा विकास समितिले शुक्रबार भानु नगरपालिका–४ मा आयोजना गरेको भानुभक्तीय रामायण वाचन तथा खुला कविता प्रतियोगिता कार्यक्रममा सहभागी स्रष्टाले पनाति हरिनाथसँग भेट्न र सँगै तस्बिर खिचाउन पाउँदा बेग्लै अवसरको अनुभव गरेका थिए । पनाति आचार्यले भने, ‘देश–विदेशमा नाम कहलिएका भानुको जन्मस्थललाई आजसम्म पर्यटकीय गन्तव्य नबनाइएकामा हामी परिवारका तर्फबाट दुःख व्यक्त गर्दछौँ ।’
उक्त स्थललाई पर्यटीयक गन्तव्य बनाउन पहल भने नभएका होइनन् । डा. जयराज आचार्यको अध्यक्षतामा गठित भानु साहित्य उद्यानका महासचिव काशीराज आचार्यले रम्घाडाँडामा रहेको चार सय रोपनी जग्गा अधिग्रहण गराएर त्यहाँ साहित्य उद्यान बनाउने कार्य सुरु भएको जानकारी दिए । यसका लागि सरकारबाट एक करोड निकासा भएको थियो ।
उद्यानले व्यक्तिगतस्तरमा पनि आर्थिक सहयोग जुटाइ विकास समिति र नगरपालिकालाई यस्ता काममा भरथेग र सहजीकरण गर्दै आएको छ । महासचिव आचार्यले सबै जग्गा अधिग्रहण भइसकेपछि डाँडामा भानुको एक सय आठ फिटको विशाल मूर्ति बनाउने लक्ष्य रहेको बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभु घिमिरेले चुँदीरम्घालाई गन्तव्यस्थल बनाउन आग्रह गर्दै आदिकविले जनजीवनका सरल शैलीमा भानुभक्तीय रामायाण र अन्य लोकपिय रचना गरेका कारण उनको कीर्ति नेपाल बाहिर नेपाली पुगेका सबै स्थानमा भएको बताए । उनले प्रतिभा अब्बल भएमा कुनै सञ्चारमाध्यम वा विमोचनजस्ता कार्यक्रमबाट प्रचार नभए पनि मानिसले कृति आफैँ बोकेर देशाटन गर्ने उदाहरण रामायणलाई लिन सकिने बताए ।
सोही स्थानमा जन्मिएका अध्येता एवं साहित्यकार विधान आचार्यले पृथ्वीराजमार्गमा बनाइएको घाँसीकुवा नै भानुभक्तीय कुवा हो भन्ने प्रामाणिक आधार नभएकाले यसबारे अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याए ।
भानु जयन्तीका अवसरमा आज विकास समितिको कार्यालयबाट बिहान झाँकी प्रदर्शनीसहित प्रभातफेरी सुरू भई चुँदीरम्घास्थित आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरिँदैछ । दिउँसो भानुभक्तीय रामायण वाचन र खुला कविता प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण र अन्य साहित्यिक कार्यक्रमका साथै समितिद्वारा पहिलोपटक प्रकाशित भानुभक्तको रामायण ग्रन्थको विमोचन हुँदैछ ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया