बिहीबार, माघ २२, २०८२

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तुलाधारको नाममा ललिता निवासको दुई रोपनी जग्गा देखियो

मेरोन्यूज २०८० असार ३१ गते १९:२३

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएलगत्तै केशव तुलाधर पक्राउ परेका छन् ।

उनलाई बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको भन्दै पक्राउ गरेको हो । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

स्रोतका अनुसार तुलाधारलाई अदालतबाटै नियन्त्रणमा लिइएको हो । सीआईबीका अनुसार उनको नाममा ललिता निवासको दुई रोपनी सरकारी जग्गा देखिएको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखाले तुलाधारलाई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै लाखौँ ठगी गरेको आरोपमा पक्राउ गरेको थियो ।

शरणार्थी प्रकरणको थुनछेक बहसपछि कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीलगायत १६ जना हाल पुर्पक्षका लागि थुनामा छन् । दुई जना भने धरौटी बुझाएर रिहा भएका छन् ।

यसै क्रममा तुलाधारलाई पनि अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, प्रहरीले पुनः पक्राउ गरेको हो ।

प्रतिक्रिया