मंगलबार, वैशाख ९, २०८२

भन्सारका कर्मचारीहरू राज्यले दिएको तलबभत्ताबाट सन्तुष्ट हुनुपर्छ : अर्थमन्त्री

मेरोन्यूज २०८० साउन ८ गते १४:४१

भैरहवा । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार कर्मचारीहरू राज्यले दिएको तलबभत्ताबाट तपाईंहरु सन्तुष्ट हुनुपर्ने बताएका छन् । उनले कर्मचारीहरूलार्ई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन् । सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।

‘अहिले राजस्व कम उठेको छ, यसका धेरै कारण छन् । केही समयअघि आयात रोकियो, त्यो कारणले पनि भन्सार उठ्ती कम भयो । आन्तरिक आर्थिक गतिविधिमा कमी भएपछि राजस्व कम उठ्यो । सँगसँगै नाका र नाका बाहिर दुरुपयोग गर्ने तथा अन्य उपाय उपयोग गरेर सामान भित्र्याउने प्रवृत्ति विद्यमान छन्,’ डा. महतले भने, ‘सुरक्षा निकायसहितको समन्वय समिति पनि छ । कुनै कारणबाट राजश्व उठाउने क्रममा हामीले दुरुपयोग या गैरकानुनी तरिकाबाट नाका र नाकाबाहिरबाट प्रवेशलाई सरकारले गम्भीरताका साथ लिएको छ ।’

कर्मचारीले उच्च कर्तव्यनिष्ठताका साथ काम गर्नुपर्ने डा. महतको भनाइ छ । मन्त्री डा. महतले भने, ‘यो जिम्मेवारी जोकोहीले पाएको छैन, धेरै मान्छेहरु हाम्रो राज्यसंयन्त्रको अंग हुन पाएका छैनन् । मेरो पनि त्यत्तिकै योग्यता थियो, हामीले पनि केही जिम्मेवारी पाए हुन्थ्यो भन्ने थुप्रै नागरिक छन् । प्राप्त जिम्मेवारीसँगै राज्यले दिएको तलबभत्ताबाट तपाईंहरु सन्तुष्टि हुनुपर्छ । मलाई यसले पुगेन, योभन्दा मलाई ठूलो चाहिन्छ कसैले भन्छ भने, उसले त्यो ठाउँ छोड्नुपर्छ । जिम्मेवारीबाट पन्छिने छुट कसैलाई छैन ।’

मन नलागी काम गरियो भने त्यसबाट परिणाम नआउने डा. महतले बताए । पाएको जिम्मेवारीमा पूर्ण समर्पणका साथ काम गर्यो भने मात्र परिणाम आउने डा. महतको भनाइ छ ।

भैरहवा भन्सारका आवश्यकताबारे सरकार गम्भीर रहेको मन्त्री डा. महतले बताए । ‘आधुनिक मेसिनको आवश्यकता छ, अरु सहयोगी संरचना नभएर काममा बाँधा परेको छ भने त्यो बाधा फुकाउन मन्त्रालय तयार छ । आवश्यकता सामाग्रीको फेहरिस्ता दिनुस् हामी पूरा गछौँ,’ मन्त्री डा. महतले भने ।

प्रतिक्रिया