शुक्रबार, चैत २७, २०८२

५१ करोडको कोदो, साढे ७ करोड बढीको फर्सी आयात

मेरोन्यूज २०८० साउन १० गते ७:५४

काँकडभिट्टा । मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन् । यस्तोमा कोदोमा पनि हामी भारतमाथी नै निर्भर हुनुपर्ने अवस्था आएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आर्थिक वर्ष २०७९÷८० मा पूर्वीनाका काँकडभिट्टा भएर रु ५१ करोड ३१ लाख २० हजार बराबरको कोदो भारतबाट आयात भएको तथ्याङ्क छ । काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार सो अवधिमा १६ हजार ३५ मेट्रिक टन कोदो आयात गरिएको छ ।

यसैगरी गाउँघरमा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानले गाईभैँसीलाई खोले पकाएर खुवाउने गरेको अवस्थामा त्यही फर्सी भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार आर्थिक वर्ष २०७९÷८० मा भारतबाट रु सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार सात सय ३३ मेट्रिक टन फर्सी आयात गरिएको छ ।

आव २०७९-८० मा पूर्वीनाका काँकडभिट्टा भएर रु ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले बताए । उनका अनुसार गत एक वर्षमा रु १९ करोड ८३ लाख ८४ हजार मूल्य बराबरको १२ हजार तीन सय ९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ । सोही अवधिमा रु ३१ करोड ९८ लाख आठ हजार मूल्य बराबरको १९ हजार नौ सय ८८ मेट्रिक टन करेला, रु १८ करोड ७४ लाख ७२ हजार मूल्य बराबरको ११ हजार सात सय १७ मेट्रिक टन भिन्डी र रु आठ करोड ९६ लाख ८० हजार मूल्य बराबरको पाँच हजार छ सय पाँच मेट्रिक टन सिमी भारतबाट उक्त नाका हुँदै आयात भएको ठाकुरले जानकारी दिए।

पूर्वीनाकाबाट सोही अवधिमा रु ८० करोड ९९ लाख ८४ हजार मूल्य बराबरको २५ हजार तीन सय १२ मेट्रिक टन प्याज, रु ६० करोड ८१ लाख ६० हजार मूल्य बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा, रु दुई करोड ७१ लाख ५२ हजार मूल्य बराबरको एक हजार छ सय ९७ मेट्रिक टन घिरौला, रु चार करोड ९८ लाख आठ हजार मूल्य बराबरको तीन हजार एक सय १३ मेट्रिक टन लौका, रु तीन करोड १० लाख आठ हजार मूल्य बराबरको एक हजार नौ सय ३८ मेट्रिक टन तरुल र रु तीन करोड ४० लाख ९६ हजार मूल्य बराबरको दुई हजार एक सय ३१ मेट्रिक टन सुठुनी भारतबाट आयात भएको तथ्याङ्कले देखाउँछ ।

भारतबाट मधेसदेखि हिमाली जिल्लासम्म उत्पादन हुने फापरसमेत भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार एक वर्षमा रु ४४ लाख ८० हजार मूल्य बराबरको एक सय १२ मेट्रिक टन फापर, रु छ करोड ६६ लाख ६६ हजार मूल्य बराबरको दुई हजार ८३ मेट्रिक टन अम्बक र रु ३४ लाखको पानको पात भारतबाट आयात भएको छ ।

खाद्यान्नमा चामल र फलफूलमा तरबुजाको आयात उच्च मात्रामा भइरहेको छ । कार्यालयका अनुसार सोही अवधिमा रु १७ करोड ३१ लाख २० हजार मूल्य बराबरको चार हजार तीन सय २८ मेट्रिक टन चामल र रु १७ करोड २८ लाख २४ हजार मूल्य बराबरको सात हजार दुई सय एक मेट्रिक टन तरबुजा भारतबाट आयात भएको छ ।

पूर्वीनाका काँकडभिट्टाबाट विगत एक वर्षमा जम्मा रु छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको थियो । जसमा रु तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार मूल्यको ताजा तरकारी र रु दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजार मूल्यको फलफूल आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानले उत्पादन गर्दै आएको तरकारी बाली बजारमा बिक्री नभएको मेचीनगरको महालक्ष्मी कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष दुर्गा खतिवडाले गुनासो गरे । उनका अनुसार संस्थाले जग्गा भाडामा लिएर सञ्चालन गरेको कृषि फार्ममा उत्पादन भएको भिन्डीले उचित बजारभाउ नपाएपछि घाटा सहेर अतिकम मूल्यमा बिचौलियालाई बेच्नुपरेको बताए ।

इलाम नगरपालिकावडा नं १२ की तुलसा रायाले यही वर्ष बारीमा फलेका करिब एक ट्रक फर्सी नबिकेपछि गाईवस्तुलाई खोले खुवाएको बताइन् ।

प्रतिक्रिया