शुक्रबार, चैत २७, २०८२

एक वर्षमा नेपाल भित्रियो १६ अर्बभन्दा बढीको फलफूल

मेरोन्यूज २०८० साउन ११ गते १६:४६

काठमाडौा । गत आर्थिक वर्ष २०७९।८० मा १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा १६ अर्ब आठ करोडभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ ।

सात अर्बको करोड स्याउ आयात

विभागका अनुसार गत आवमा सात अर्ब नौ करोड ४४ लाख ७७ हजार मूल्य बराबरको आठ करोड ३२ लाख ७४ हजार तीन सय ३१ केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले ८६ करोड ८३ लाख ८९ हजार बराबरको राजस्व संकलन गरेको छ ।

सार्वजनिक विवरणअनुसार चीनबाट सबैभन्दा धेरै स्याउ आयात भएको देखिन्छ । चीनबाट मात्र पाँच अर्ब १५ करोड ५८ लाख ४५ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट एक अर्ब ९३ करोड आठ लाख ७८ हजार, अमेरिकाबाट ५० लाख ३४ हजार, स्वीजरल्याण्डबाट २७ लाख २० हजार मूल्य बराबरको स्याउ आयात भएको छ ।

दुई अर्बको अङ्गुर आयात

गत आवमा दुई अर्ब १५ करोड ८८ लाख ७६ हजार मूल्य बराबरका तीन करोड नौ लाख आठ हजार एक सय ७२ केजी ताजा अङ्गुर आयात भएको छ । त्यसबाट सरकारले ११ करोड एक लाख ७० हजारको राजस्व संकलन गरेकोे छ । ताजा अङ्गुर सबैभन्दा धेरै भारतबाट दुई अर्ब १३ करोड ७६ लाख ६५ हजार बराबर तथा चीन बाट दुई करोड १२ लाख तीन हजार बराबरको आयात भएको छ ।

केरा आयातबाट एक अर्ब ६२ करोड बाहिरियो

विभागका अनुसार गत आवमा एक अर्ब ६२ करोड ७३ लाख ९९ हजार बराबरको केरा आयात भएको छ । कूल पाँच करोड ३३ लाख ९४ हजार सात सय ९५ केजी केरा भारतबाट आयात भएको र त्यसबापत सरकारले २९ करोड ४३ लाख ३८ हजार राजस्व संकलन गरेको सार्वजनिक विवरणमा उल्लेख छ ।

विभागका अनुसार गत आवमा ८९ लाख चार हजार एक सय २७ केजी अनार आयातमा ९३ करोड ४९ लाख ३५ हजार रकम बाहिरिएको छ । जसबाट सरकारले नौ करोड ४९ लाख ९० हजार राजस्व उठाएको छ ।

सार्वजनिक विवरणानुसार गत आवमा ८८ करोड १८ लाख ८४ हजार बराबरको एक करोड ५४ लाख ८७ हजार आठ सय ८१ केजी सुन्तला आयात भएको छ । त्यस्तै एक करोड ५५ लाख ५१ हजार तीन सय ६८ केजी अम्बा तथा आँप आयातमा ७० करोड दुई लाख ७२ हजार बाहिरिएको छ । साथै दुई करोड ७० लाख ७७ हजार दुई सय ८६ केजी खरबुजा आयातका लागि ६८ करोड ९५ लाख ४० हजार बराबर रकम बाहिरिएको छ ।

नेपालको हावापानी सुहाउँदो फलका रुपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार गत आवमा ८८ लाख ३५ हजार तीन सय आठ केजी मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य ३० करोड ९० लाख ८१ हजार बराबर छ ।

यस अवधिमा १३ करोड ६२ लाख ५८ हजार बराबरको ३० लाख ५० हजार आठ सय ९० केजी भुइँकटहर आयात भएको छ भने १५ लाख ६२ हजार सात सय ३८ किलो नास्पाती आयातमा १२ करोड ३६ लाख २६ हजार बाहिरिएको छ ।

नौ करोड ४५ लाख ७८ हजार बराबरको दुई लाख ५८ हजार छ सय २८ किलो एभोगाडो आयात भएको छ भने सात करोड ५२ लाख २१ हजार बराबरको चार लाख १० हजार तीन सय २२ किलो किबी आयात भएको छ ।

प्रतिक्रिया