शनिबार, फागुन ९, २०८२

सत्ता गठबन्धनभित्र छलफल

राप्रपालाई फकाउन सक्ने नेता कोशीको मुख्यमन्त्री !

बहुमत जुटाउने क्रममा जसको नाममा सहमति जुट्छ, उसले सरकारको नेतृत्व गर्ने सहमति

शितल शर्मा २०८० साउन १३ गते २१:३७

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्वका विषयमा सत्ता गठबन्धन दलभित्र जुनकुनै नेताले निर्णायक मानिएको राप्रपालाई फकाउन सक्छ, उसैको नाममा मुख्यमन्त्रीमा सहमति गरेर जानसक्ने लचिलो प्रसतावमा छलफल भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र माओवादी तथा कोशी प्रदेशमै गठबन्धन दलभित्रका नेताहरुका बीचमा भएको छलफलमा त्यस्तो लचिलो सहमति बनेको हो ।

राप्रपालाई गठबन्धनभित्र रहेका जुनकुनै दलका नेताले फकाउन सक्छ, उसैलाई मुख्यमन्त्री दिएर जाने विषयमा लचिलो प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका बीचमा सहमति बनेको हो । गठबन्धनभित्र पहिलो विकल्पमा प्रदेश सभामा ६ सिट रहेको राप्रपालाई फकाउने र दोस्रो विकल्पमा राप्रपा सहमत नभए सभामुखलाई राजीनामा गराएर भएपनि गठबन्धनबाट एमालेको हातमा सरकारको नेतृत्व जान नदिने रणनीतिमा गठबन्धन दलहरु रहेका छन् ।

त्यसका लागि निर्णायक छलफलका लागि आइतबार बिहान ९ बजे फेरि प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र माओवादीका अध्यक्ष सहित प्रदेश सभामा रहेका दलका नेताहरुका वीचमा संयुक्त छलफल गर्ने तयारी भएको छ । त्यसका लागि कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीका प्रदेश सभा दलका नेताहरुलाई काठमाडौं बोलाइएको छ ।

माओवादी केन्द्रका प्रदेश सभा दल नेता इन्द्र आङबोले नेताहरुले छलफलका लागि काठमाडौं बोलाइएको पुष्टि गरे । हामीलाई छलफल गर्न बोलाइएको छ, हामी काठमाडौं आउने तयारी गरिरहेका छौं, आङबोले भने ।

कांग्रेसका दल नेता रहेका र अहिले कामचलाउ सरकारको नेतृत्व गरिरहेका उद्दव थापाले मुख्यमन्त्रीको स्वभिावक दावी गरिरहेका छन् । उनले जम्माजम्मी २२ दिनमात्र मुख्यमन्त्रीका रुपमा सरकारको नेतृत्व गर्न पाएका थिए । तर उनले प्रदेश सरकारको नेतृत्व गरेपनि उनलाई अदालतले महत्वपूर्ण निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।पछि सभामुखले मत सरकार निर्माणमा दिन नपाउने भन्दै थापालाई उत्प्रेषणाका आधारमा सर्वाेच्च अदालतले पदमुक्त गरिदिएको थियो ।

कोशी प्रदेशमा कांग्रेसका २९, माओवादी केन्द्रका सभामुख बाहेक १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी ९जसपा०का एक प्रदेशसभा सदस्य छन् । यो संख्या जोड्दा ४६ हुन्छ । उता एमालेसँग ४० र राप्रपासँग ६ गरी विपक्षी गठबन्धनसँग पनि ४६ नै मत छ ।

कांग्रेसका थापा मुख्यमन्त्री बन्दा राप्रपाले साथ नदिएको भए अन्य नेताका नाममा राप्रपाले साथ दिनसक्छ भने उक्त विकल्प खुल्ला राखेर भएपनि जसले बहुमत जुटाउन सक्छ, उसैलाई मुख्यमन्त्री बनाएर जान सकिनेमा पनि छलफल भएको छ । शनिबार नै माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरवहादुर देउवाले सरकारमा साथ दिन राप्रपा अध्यक्ष राजेन्द्य्र लिङदेनसँग आग्रह गरेका छन् ।

उनीहरुले लिङदेनसँग संयुक्त रुपमा नै गठबन्धनका नेतालाई साथ दिएर सम्वैधानिक जटिलता फुकाउन सहयोगी बनिदिन आग्रह गरेका थिए । तर लिङदेनले प्रचण्ड र देउवालाई कुनै सन्देश दिईसकेका छैनन ।

कांग्रेसका दल नेता उद्दव थापा र राप्रपा दल नेता भत्तिः सिटौलाका बीचमा अस्वस्थ्य राजनीति रहेका कारण पनि थापालाई राप्रपाले मुख्यमन्त्री बनाउन सहयोग गर्ने सम्भावना कम रहेको देखिन्छ । त्यहीकारण पनि राप्रपालाई जसले फकाउन सक्छ, उसैलाई मुख्यमन्त्री प्रस्ताव गरौं भन्नेमा गठबन्धनभित्र छ ।

सर्वोच्च अदालतले बिहीबार मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्दै संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन आदेश दिएपछि कोशीमा नयाँ सरकारका बारेमा रस्साकस्सी सुरु भएको हो ।

शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङलेले चार दिन (१६ गते अपराह्न ५ बजेसम्म) को समय दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् ।

तर अहिलेसम्म सत्ता गठबन्धन र एमाले दुबै पक्षसँग बहुमत छैन ।

राप्रपा फकाउन नसकेमा मात्रै गठबन्धनले माओवादीबाट निर्वाचित सभामुख बाबुराम गौतमलाई राजीनामा गराउने विकल्पमा छलफल गर्ने तयारी गरेको छ । तर अहिले गौतम राजीनामा दिने मुडमा छैनन ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया