शनिबार, फागुन ९, २०८२

लम्पी स्किन नियन्त्रणमा सरकार चुक्यो, रोगको निदानमा ध्यान पुगोस् : नेता महर

मेरोन्यूज २०८० साउन १३ गते २१:५०

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पशु चौपायामा लागेको लम्पी स्किन रोगलाई रोक्न हदसम्म प्रयास गर्नुपर्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघिसकेको अवस्थामा सरकार गम्भीर नबन्नु चिन्ताको विषय भएको बताए।

Advertisement
nepal life insurencenepal life insurence

‘साउन १२ सम्म मुलुकभर ५० हजार ८ सय २६ पशु मरेको पशुसेवा विभागको तथ्यांक छ। ०७९ चैतमा कोशीबाट फैलिएको लम्पी स्किन रोगबाट साउन १२ सम्म १० लाख ८८ हजार ७ सय ४९ पशु संक्रमित भएका छन्। तीमध्ये ५० हजारभन्दा बढी पशु मरेका छन्। २ लाख ४८ हजार ३ सय ५ पशु अझैँ सक्रिय संक्रमणमै रहेको विभागको तथ्याङ्‍क छ। अवस्था यति भयावह हुँदा पनि सरकार गम्भीर बनेको छैन,’- उनले भने।

लम्पी स्किनको बारेमा सरकारले क्याबिनेटमा छलफल गरेरमात्र नहुँने बताउँदै उनले रोकथामका लागि एक्सन लिनुपर्ने बताए। ‘सरकारको तर्फबाट रोग निदानका लागि भरपुर प्रयास हुनुपर्थ्यो। हजारौ किसान मसस्यामा परेका छन्। किसानलाई सरकार भएको अनुभूति दिलाउनुपर्छ,’ महरले भने।

रोगको शीघ्र नियन्त्रण, पशु चौपायामा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बिमाको भुक्तानी दिन पनि उनले सरकारसँग माग गरे। वर्षेनी मलको अभाव भोग्दै आएका किसानलाई यस पटक लम्पी स्किनले पनि थला पारेको नेता महरको भनाइ थियो।

देशभर नै चौपायामा यो रोगको संक्रमण फैलिएको र खोपको अप्रयाप्तता देखिएकोप्रति सरकार गम्भीर नदेखिएको भन्दै महरले चिन्ता व्यक्त गरेका छन्। पशुको मृत्यु हुनुका साथै रोगका कारण दूध उत्पादनमा कमी आएले मुलुकलाई करोडौको नोक्सानी पुगेको महरले बताए।

गठबन्धनको ठूलो दल नेपाली कांग्रेस भएको बताउँदै नेता महरले किसानका समस्याप्रति कांग्रेस पनि जिम्मेवार र जवाफदेखि बन्नु पर्ने बताए। सरकारलाई दबाब दिन कांग्रेसबाट सरकारका सहभागी मन्त्रीहरूले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

‘कांग्रेसप्रति जनताको ठूलो आसा छ। त्यसलाई निराशामा परिरण गर्नु हुँदैन। हाम्रै दलबाट सरकारमा सहभागी मन्त्रीहरूले पनि किसानका समस्या समाधानमा सरकारलाई बढी जिम्मेवार बनाउनुपर्छ,’ उनले भने।

प्रतिक्रिया