शुक्रबार, माघ २३, २०८२

सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट

मेरोन्यूज २०८० साउन १४ गते १४:२२

काठमाडौं । कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ । रातोपुलस्थित घरमा मृत फेला परेका उनको मोवाइलमा सुसाइड नोट फेला परेको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न आग्रह गर्दै लेखेको झण्डै एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई सबै गल्ती आफ्नै भएको बताएका छन् ।

प्रहरीका अनुसार, उनले आमा र बुबालाई सम्बोधन गर्दै फेरि यही परिवारमा जन्मिन पाउँ समेत भनेका छन् ।

ताम्राकार २१ असारमा घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । लगत्तै उनको मोबाइललाई जाँचका लागि पठाइएको थियो । प्रहरी वृत्त, मालीगाउँमा उनी मृत भेटिएको भन्दै २१ असारको राति ११ बजे खबर पुगेको थियो ।
घटनास्थलमा पुगेका अधिकृतहरुका अनुसार, भित्र परिवारका अन्य सदस्य र प्रहरीको प्रवेश हुँदा उनको मोबाइलमा गीत बजिरहेको थियो । उनले मोबाइल ‘फ्लाइट मोड’मा राखेर गीत बजाइरहेको पाइएको एक अधिकृत बताउँछन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमपछि परिवारले शव बुझेर अन्त्येष्टि गरेको थियो । तर, त्यहीबीचमा नेपाल चलचित्र कलाकार संघले विज्ञप्ति निकालेर ताम्राकार मृत्युको विषयमा गम्भीर अभिव्यक्तिहरु बाहिर आएकाले त्यसबारे छानबिन गर्न माग गरेको थियो ।

ताम्राकारकी साथी २०११ की मिस नेपाल मलिना जोशीले के कारण उनले आत्महत्या गरेका हुन् भन्दै केही प्रश्नहरु उठाएकी थिइन् ।

उनले पछिल्लो समय ताम्राकारले नजिकका महिला साथीहरुसँग किन सम्पर्क टुटाएका थिए भन्ने प्रश्न पनि गरेकी छन् ।

प्रतिक्रिया