बुधबार, फागुन ६, २०८२

मैले सरकारको नेतृत्व गर्दा ऊर्जा क्षेत्रमा दूरगामी महत्वका निर्णय भएका छन् : प्रधानमन्त्री

मेरोन्यूज २०८० भदौ १ गते १२:४३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले सरकारको नेतृत्व गर्दा उर्जा क्षेत्रमा दुरगामीम हत्वका निर्णयहरु भएको दावी गरेका छन् । नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिक उत्सवलाई काठमाडौंमा सम्बोधन गरेका प्रधानमन्त्रीले त्यस्तो बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

‘मैले सरकारको नेतृत्व गर्दा ऊर्जा क्षेत्रको विकासका लागि दूरगामी महत्वका निर्णयहरू भएका छन् भने देश र जनताको हितमा धेरै काम भएका छन् । साथै प्राधिकरणभित्र नीतिगत सुधार, प्राधिकरणको घाटा अपलेखन गरी वित्तीय सुरक्षा प्रदान, प्राधिकरण व्यवस्थापन र संस्थाको नेतृत्व परिवर्तन गरी लोडसेडिङलाई पूर्णरूपमा अन्त्य गर्दै संस्थालाई नाफामा लाने काम भएको कुरा विदितै छ,’ प्रधानमन्त्रीले भने ।

२०७३ साल साउनमा आफु दोस्रोपटक प्रधानमन्त्री हुँदा देशले वर्षात्को समयमा पनि व्यहोरिरहेको लोडसेडिङ्को कहालीलाग्दो अवस्थालाई अहिले पनि आफुले सम्झिरहेको भन्दैै प्रधानमन्त्री प्रचण्डले भने, – ‘त्यसवेला बिजुलीको पहुँच भएको ठाउँमा दिनमा १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो भने देशका करिब ४० प्रतिशत जनता त विद्युत्को पुहँचभन्दा बाहिर थिए । लोडसेडिङका कारण उद्योग व्यवसायको अवस्था दयनीय थियो । नागरिकको दैनिकी नराम्ररी प्रभावित थियो । प्राधिकरणको वित्तीय अवस्था अत्यन्तै नाजुक थियो । त्यस्तो बेला मैले ३ महिनाभित्र देशमा लोडसेडिङ अन्त्य गर्ने र प्राधिकरणलाई नाफामा लाने घोषणा गर्दा धेरैले त्यसलाई मजाकको विषय बनाएका थिए, कतिले त लोडसेडिङ अन्त्य भयो भने खुल्लामञ्चमै आत्महत्या गर्नेसम्म घोषणा गरेका थिए । प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानजीलाई ल्याएपश्चात् हाम्रो संकल्प इमानदारिता र मेहेनतका कारण हामीले १८ घण्टाको लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालोतर्फ अघि बढाएका थियौँ ।’

नदीनाला र हिमश्रृङ्खलाको बाहुल्यताले जलसम्पदामा प्रकृतिको आशिर्वाद देशले पाएको भन्दै प्रधानमन्त्रीले जलविद्युत उत्पादनमा अत्यन्त उच्च सम्भावना भएको देशका रूपमा परिचित रहेको बताए । ‘जलवायु जोखिमसँग सम्बन्धित पक्षहरूलाई समेत मनन गर्दै विना बिलम्ब यो अवसरको उपयोगिता लिन हामी पछि पर्नु हुँदैन । आन्तरिक विद्युत खपतको बृद्धि गर्दै ऊर्जा सुरक्षा हासिल गर्नुका अतिरिक्त स्वदेशी विद्युत माग पूरा गरी बढी भएको परिमाणको विद्युत निर्यातका लागि समेत हामी स्पष्ट लक्ष्यसाथ अघि बढिरहेका छौँ,’ प्रधानमन्त्रीले भने ।

नेपालको जलविद्युत विकासमा उल्लेखनीय सहभागितामार्पmत विद्युत उत्पादनको बढ्दो हिस्साका लागि योगदान पुर्‍याइरहेको निजी क्षेत्रको उत्पादित विद्युतसमेत खरीद गरिरहेको नेपाल विद्युत प्राधिकरणले आफै वा आफ्ना सहायक कम्पनीहरू मार्फत आगामी दिनमा विद्युत उत्पादन क्षेत्रमा सशक्त र अग्रणी भूमिकामा आपूmलाई प्रस्तुत गर्दै जाने अपेक्षा आफुले लिएको पनि प्रधानमन्त्रीले बताए ।

‘योग्य र सक्षम जनशक्ति भएको नेपाल विद्युत प्राधिकरणको संलग्नतामा आगामी दिनमा १,२०० मेगावाट क्षमताको बुढीगण्डकी जलासय तथा १०,८०० मेगावाट क्षमताको बहुआयमिक कर्णाली चिसापानी जस्ता ठूला जलविद्युत आयोजनाहरूको निर्माण अघि बढाउने सोंच र योजना साथ नेपाल सरकार अघि बढिरहेको अवस्था तपाईहरूसामु उजागर गर्न पाउँदा मलाई खुशी लागेको छ,’ प्रधानमन्त्रीले भने ।

प्रतिक्रिया