सोमबार, वैशाख ७, २०८३

नाडा अटो शो भदौं २६ देखि ३१ सम्म

मेरोन्यूज २०८० भदौ ११ गते १४:३२

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालले भाद्र २६ देखि ३१ गते सम्म नाडा अटो शो गर्ने भएको छ । नाडा अटो शो सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनी हो । यसको अहिले १५ औं संस्करण सुरु हुन लागेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

टाटा मोटर्स जेनुइन आयलले नाडा अटो शोलाई प्रायोजन गरिएको छ ।

काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको शिर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह–प्रायोजकमा शिखर इन्सुरेन्स् कम्पनी लिमिटेड रहेको छ ।

यसै गरी प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ्ग पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिङ्क, फायर सेफ्टी सपोर्टमा हिटको प्रा.लि. एवं हस्पिटल पार्टनरमा फ्रन्टलाइन् हस्पिटल जस्ता प्रतिष्ठत संस्थाहरू रहेका छन् ।

प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।

हाल विद्यमान बजार सुस्तताका बाबजुद पनि प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरुको उत्साहजनक सहभागिताले, केही हदसम्म अर्थतन्त्र चलायमान बनाउने विश्वास गरिएको छ ।

आयोजकका अनुसार आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पार्नुका साथै सवारी साधन खरिदकर्ताको वित्तीय योजनामा समेत असर गरेको छ । यस अवस्थामा टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित नाडा अटो शो २०२३ ले बजारलाई चलायमान बनाउन मद्दत पुग्ने आयोजकको ठम्याई रहेको छ ।

संग-संगै नेपाली महान चाड–पर्वहरुको पूर्वार्धमा आयोजना हुन गइरहेको यस प्रदर्शनीले अटो व्यवसायी, ग्राहकवर्ग, गाडी प्रेमीहरु तथा अटोमोबाइलसंग प्रत्यक्ष–अप्रत्यक्षरुपमा संलग्न सबैलाई उत्साह पूर्वक सहभागी गराउने आयोजकले जानकारी दिएको छ ।

प्रत्येक वर्ष नाडा अटो शोमा सहभागी संस्था तथा अवलोकनकर्ताहरुको चाप बढ्दै गइरहेको सन्दर्भमा, प्रदर्शनीले सवारी साधनलाई विलासिता मात्र नभई, आम सर्वसाधारणको जिविकोपार्जनका लागि चाहिने अत्यावशक साधनको रुपमा चित्रण गर्न सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।

प्रदर्शनीमा ठूला तथा साना गरि करिव १२० वटा स्टल र ब्लकहरु रहने छन् । उक्त प्रर्दशनीमा प्रख्यात अन्तराििष्ट्रय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने छ ।


प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको छ ।

प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्वन्धि सेवा सुविधा दिने जस्तै वित्तिय सेवा, विक्रिपछिका सेवा, आदिका छुट्टाछुट्टै स्टलहरु रहने छन् भने अटो सम्वन्धी जानकारी दिने म्यागेजीन तथा पत्रपत्रिकाहरुका लागि पनि एउटा छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको छ ।

आम सर्व साधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सुचना–कक्ष समेत प्रदर्शनीमा रहने आयोजकले जनाएको छ ।

उक्त विशाल प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई विषेश ध्यानमा राखी २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरर्णहरुको छुट्टा–छुट्टै प्रदर्शन गरिएको छ । प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नका लागि काठमाण्डु मल, सैनिक कल्याणकारी भवन, बस पार्क भिउ टावर लगायतका सार्वजनिक पार्किङ्ग स्थलहरूबाट महानगर यातायातको सहयोगमा शटल बस सञ्चालन गरिने छ ।


एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिड-भाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन आजकै मिति देखि खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । आज देखि भाद्र २५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्तीद्वारा २० प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ ।


६ दिन सम्म चल्ने उक्त नाडा अटो शो २०२३ मा लगभग ७५ हजार आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ । यस वर्षको थप आकर्षणमा कुजु नेपाल प्रा. लि.को प्रायोजनमा नाडाले Yadea E8S Pro Electric Scooter टिकटको लक्की ड्र गरी भाग्यसाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था समेत गरिएको नाडा अटो शो २०२३ का सभापति अनुपकुमार बरालले जानकारी दिए ।

प्रतिक्रिया